दुलेगौडा : ४२ वर्ष अगाडी थातथलो छाडेर टिकाराम सिग्देलको परिवार भानुमतिबाट बसाई झरे । शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजारमा बसाई आएका उनले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा छैन् । आफ्नो जग्गा आफ्नै जस्तो लाग्दैन उनलाई । बैंकबाट ऋण लिएर केही गरु भनेपनि हातमा लालपुर्जा छैन् ।
यसपालि आफूले भोगचलन गर्ने जग्गाको लालपुर्जा जसै हात पर्ने उनको आश थियो । तर, मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिदिएपछि लालपुर्जा पाउने उनको सपना तुहाइदिएको छ । टिकारामले पाँचौ पटक यसपाली लालपुर्जाका लागि निवेदन दिएका थिए । ‘अहिलेसम्मकै शक्तिशाली आयोग थियो । देशभर काम चलिराछ । यसपालि त लालपुर्जा कसो नपाईएला भन्ने थियो । तर, जनतालाई भुम्रोमा हाल्ने काम भयो’, उनले भने ।
नेता आपसमा लड्दा दुखी जनताको सपनामा लात हात हान्ने काम भएको सिग्देल बताउँछन् । पटक–पटक लालपुर्जाको सपना देखाउँदै आफूहरुलाई भोट बैंकमा मात्रै प्रयोग गरेको उनको आरोप छ । अब जनता लालपुर्जा माग्दै सरकार विरुद्ध आन्दोलनमा उत्रने उनको चेतावनी छ । ‘ती नेतालाई भोलि यहाँ आउनुपर्दैन ? कुन मुख देखाएर आउने हुन् र ? अब जनता उत्रन्छन् । उस्तै परे रगतको खोलो बग्छ’, उनले भने । गुँदको डल्लो देखाएर ईट्टाको डल्लोले हिर्काउने काम भएको उनको भनाई छ ।
लालपुर्जा नहुँदा फर्म समेत दर्ता गर्न नपाएका भिमाद नगरपालिका–८ भागरका मानबहादुर थापा सरकारले आयोग खारेज गरी गलत गरेको बताउँछन् । ‘एउटा सरकारले शुरु गरेको काम अर्को सरकारले बदर गर्ने हो भने हामीले कहिले लालपुर्जा पाउने’, उनको प्रश्न छ । आयोगको पदाधिकारी हटाएपनि आयोग नै खारेज गर्न नहुने उनको तर्क छ । आफैँले भोगचलन गरेको जग्गाको लालपुर्जा शिरानीमा राख्ने सपना पुरा यो जुनीमा नहुने चिन्ता छ मानबहादुरलाई ।
तनहुँमा २७ हजार बढी भुमीहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् । ओली सरकारले देवी ज्ञवाली नेतृत्वमा गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगमा २७ हजार ३ सय ८७ जनाले लालपुर्जाका लागि निवेदन दिएका छन् । जसमध्ये २४ हजार २ सय अव्यवस्थित बसोवासी हुन् । २ हजार ५ सय ७५ भूमिहिन दलित र सुकुम्वासीले आवश्यक जमिन सहित लालपुर्जा पाउन निवेदन दिएका हुन् । यसअगाडीको आयोगमा प्रकृया पुरा भएका ६ सय १२ जनाले लालपुर्जाका लागी निवेदन दिएका छन् ।
लालपुर्जाका लागि १० वटै पालिकाबाट संकलन भएको निवेदन प्रबिष्टको काम सुरु भएको थियो । मंगलबार खारेज भएका भूमि सम्बन्धी समस्या समाधान आयोग तनहुँका अध्यक्ष दधिराज सुवेदी भन्छन्, ‘भानु नगरपालिका–७, व्यास नगरपालिका–१० र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गर्नेवाला थियौँ । तर, आयोग नै खारेज भयो ।’ यसअगाडीका आयोगले प्रकृया पुरा गरेर लालपुर्जा नदिएको ६ सय १२ परिवारलाई लालपुर्जा दिनलाई सुचना निकाल्ने निर्णय मंगलबार मात्रै भएको उनले जानकारी दिए ।