ऋषिङ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाले शुक्रबार आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको उल्लेख गरे ।
६ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्यो भन्दा पहिल्यै उक्त प्रतिबद्धता पूरा हुने मुख्यमन्त्री पोखरेलले बताए । प्रदेशका एक तिहाई जनताले खोप पाइसकेको बताउँदै उनले भने, “मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त जिल्ला भइसकेका छन्, खोप अभाव हुँदैन । त्यसका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको छ ।”
मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काम अर्काे वर्ष गरेपनि हुने भन्दै चालु वर्षको बजेटमा कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको बताए । “बाटो अर्को वर्ष बनाउँला, पुल पनि अर्को वर्ष निर्माण गरौंला, जनताको ज्यान भन्दा ठूला अरु हुँदैन,” उनले भने, “पहिलो प्राथमिकता जनताको जीवनरक्षा गर्नु हो ।” कोरोनाको तेस्रो लहरको खतरा बढेकाले त्यसको पूर्वतयारीमा सरकार लागिसकेको उहाँले जानकारी दिए ।
मुख्यमन्त्री पोखरेलले गत असारमा आएको बाढीपहिराबाट क्षति भएको संरचना पुनस्र्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताए । तीन वटै तहको सरकारको समन्वयमा पुनस्र्थापनाका काम गरिने उनकाे भनाई थियो ।
गण्डकी प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल एक ठाउँ उभिनुपर्नेमा उनले जोड दिए । “प्रदेशको समृद्धि र विकासका लागि हामी एक छौ, प्रदेशवासीको जीवनस्तर उकास्न सरकार लागिपरेको छ,” उनले भने ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, संविधानसभा सदस्य झुलबहादुर आले, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतले धारणा राखेका थिए ।