दमाैली : तनहुँको व्यास नगरपालिकाले कोभिड नगर अस्पताल सञ्चालनमा ल्याएको छ । व्यास नगरपालिका–१० दुम्सीमा नगरपालिकाले कोभिड नगर अस्पताल सञ्चालनमा ल्याएको हो ।
२५ शय्याको अस्पताल सञ्चालन गर्ने उद्देश्यका साथ हाल पाँच शय्या व्यवस्थापन गरिएको छ । उक्त अस्पतालको शुक्रबार नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । भदौ १ गतेदेखि उक्त अस्पतालले सेवा प्रवाह शुरु गर्नेछ ।
कोभिड सङ्क्रमितको उपचारका लागि आफ्नै अस्पताल स्थापना गर्ने पूर्व निर्णय बमोजिम अस्पताल स्थापना गरिएको नगरप्रमुख न्यौपानेले बताए । “नगरपालिका मातहत सुविधासम्पन्न अस्पताल नहुँदा चुनौति आएको महशुस गर्दै नगरपालिकाले अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो,”उनले भने “सोही बमोजिम तत्कालका लागि पाँच शय्याको संरचना तयार भएको छ ।”
उद्घाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिगदेल, व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, नगर सदस्य लक्ष्मी विक, स्थानीय यज्ञराज शर्मा, डा. सुरज घिमिरे, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती लगायतले अस्पतालको आवश्यकता, औचित्य र भावी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।
विगतमा नेपाल सरकारबाट अस्पतालको कोटा वितरण गर्दा व्यास नगरपालिकाको प्रभाव क्षेत्रभित्र दमौली बजारमा नै अस्पताल रहेका कारण नगरपालिका प्राथमिकतामा नपरेको साथै कोभिड–१९ नै विभिन्न भेरियन्टमा दोहोरिँदै आएको अवस्थामा नगर अस्पतालको आवश्यकता खड्किएको थियो ।
सोही अस्पतालमा नगरपालिकाले पिसिआर प्रयोगशाला सञ्चालन गर्नेछ । आफैले पिसिआर परीक्षण गर्ने तयारी गरेको व्यासले टेण्डर प्रकृयामार्फत् पिसिआर मेसिन खरिद गरिसकेको छ । पिसिआर प्रयोगशालाका लागि सङ्घीय सरकारले नगरपालिकालाई रु २५ लाख बजेट सहयोग गरेको थियो । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाउँदा रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिका आफै पिसिआर परीक्षणका लागि कस्सिएको हो ।
प्रयोगशालाका लागि व्यासका जनप्रतिनिधिले एक महिना बापतको रु १२ लाख सहयोग गर्ने निर्णय गरिसकेका छन् । प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले पनि रु ५० लाख सहयोग गर्ने बताइसकेको छ ।
यस्तै प्रयोगशालाका लागि नगरपालिकाका कर्मचारीले तलब सहयोग गरेका छन् । व्यास नगरपालिका अन्र्तगत विभिन्न शाखा तथा उपशाखामा कार्यरत कर्मचारीहरुले प्रयोगशालाका लागि रु ६ लाख सहयोग गरेका छन् । केही दिनअघि मात्र विदेशबाट पनि रु चार लाख सहयोग जुटेको थियो ।