व्यासले विपदबाट घर क्षति भएकाको विवरण सङ्कलन गर्ने (थप निर्णय सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासले विपदबाट घर क्षति भएकाको विवरण सङ्कलन गर्ने (थप निर्णय सहित)

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७८, शुक्रबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले गत असारमा आएको बाढीपहिराले घर क्षति भएकाको विवरण सङ्कलन गर्ने भएको छ । नगरपालिकाका १४ वटै वडामार्फत् घर क्षति भएकाको विवरण सङ्कलन गर्न नगरपालिकाले निर्देशन दिएको छ ।

    विपद्बाट असर पुगेका र घर गुमाएका लाभग्राहीको विवरण सङ्कलन गरी नगर विपद् समितिमा पेश गर्न निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले व्यास नगर समता आवासीय विद्यालय सञ्चालन कार्यविधि, २०७८, व्यास नगरपालिका कोभिड व्यवस्थापन अस्पताल सञ्चालन कार्यविधि, २०७८, व्यास नगरपालिका एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि, २०७८, व्यास नगर कृषि उपकरण व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ पारित गरेको छ ।

    त्यस्तै रु २५ लाखभित्र रहने गरी विपद् व्यवस्थापन अन्तरगत तार जाली खरिद गर्ने निर्णय गरिनुका साथै व्यास नगरपालिका अन्तरगत बहुउद्देश्यीय भवन र दक्षिण पूर्व तर्फ रहेको आरसीसी. भवनको छतमा कार्यालय व्यवस्थापनका लागि ट्रस निर्माण र कृषि एम्बुलेन्स सञ्चालनका लागि गाडी खरिद गर्ने निर्णय भएको छ ।

    बैठकले व्यास नगरपालिका अन्तरगत नगर सभाबाट पारित सङ्गठन व्यवस्थापन संरचनामा विशेष नगरसभाबाट अनुमोदन गर्ने गरी हाल ७ शाखा रहेकामा ९ शाखा कायम गर्ने निर्णय गरेको छ । व्यास नगरपालिकाभित्रका माध्यमिक, आधारभूत र प्राथमिक तहका शिक्षकहरुको दरबन्दी मिलान गर्दै केही शिक्षकहरुको काज सरुवा गर्ने निर्णय गरिएको छ ।

    भौतिक दूरी कायम गर्दै साउन मसान्तभित्र नियमानुसारका अभिभावकहरुबाट व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।