


दमौली: व्यास-४ निवासी दुवै मिर्गौला पीडित अब्दुल गफ्फारको उपचारमा सघाउन इनरह्विल क्लव अफ दमौलीले आर्थिक सहयोग गरेको छ । विगत लामो समयदेखि मिर्गौलामा समस्या आएर डायलासिस गराउँदै आएका गफ्फारको उपचारमा सघाउन क्लवले २४ हजार ८ सय ३५ सहयोग गरेको हो ।
उक्त रकम क्लवकी मन्जु थापाले मिर्गौला पीडित गफ्फारलाई आइतबार हस्तान्तरण गरिन् । असहाय, अशक्तहरुलाई क्लवले सहयोग गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिइने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
क्लवकी पूर्व अध्यक्ष निर्मला मल्लले क्लवमा आबद्ध महिलाहरुले कमाएको रकमको केही हिस्सा समाजसेवामा लगानी गर्न आर्थिक सहयोग गर्दै आएको जानकारी दिइन् । “क्लवमा आबद्ध महिलाहरुबाटै रकम सङ्कलन गरी असहायलाई सहयोग गर्दै आएका छौ,” उनले खबरपुञ्जसँग भनिन् ।
सो क्रममा क्लवका पूर्व अध्यक्ष अरुणा श्रेष्ठ, सरु श्रेष्ठ, आशा बानिया, उपाध्यक्ष शर्मिला श्रेष्ठ, सचिव प्रमिला श्रेष्ठ, कोषाध्यक्ष नारायणी मल्ल, आइएसओ सविता श्रेष्ठ लगायत सहभागी थिए ।