रामचन्द्र पौडेल भन्छन् : महाधिवेशन गर्न नसक्नु देउवाको असफलता र लापरबाही हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रामचन्द्र पौडेल भन्छन् : महाधिवेशन गर्न नसक्नु देउवाको असफलता र लापरबाही हो

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७८, सोमबार

    काठमाडौ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएकोमा नेतृत्वको कडा आलोचना गरेका छन्।

    कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ तर अहिलेसम्म क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान हुन सकेका छैनन्।

    शीर्ष नेताले विवाद समाधान गर्ने भने पनि सभापति शेरबहादुर देउवाले समय नदिएको आरोप पौडेलले लगाएका छन्। देउवा प्रधानमन्त्री पनि भएकोले पर्याप्त छलफल गर्न समय दिन नसकेको पौडेल बताउँछन्।

    कांग्रेसको महाधिवेशन विधानअनुसार चार वर्षको अन्तरालमा हुनुपर्छ। २०७२ सालमा १३ औं महाधिवेशन भएको थियो। सभापति देउवाले नियमित कार्यकाल सकेर विधानअनुसार नै विशेष परिस्थितिका लागि भन्दै एक वर्ष म्याद थपेका थिए। त्यो समयमा पनि महाधिवेशन हुन सकेन। देउवाले संविधानअनुसार छ महिना म्याद थप गरेकोमा भदौ २३ मा सकिँदैछ।

    यो समयभित्र महाधिवेशन नभए पार्टी संकटमा पर्ने पौडेलले बताउँदै आएका छन्। तर एक सय जति वडामा देखिएको क्रियाशील विवाद तत्कालै हल गर्न कांग्रेस नेतृत्वले चाहेको छैन। बरू महाधिवेशन पर धकेल्न अनेक उपायको खोजी भइरहेका छन्।

    त्यसैतर्फ संकेत गर्दै वरिष्ठ नेता पौडेलले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। उनले सोमबार बिहानै आफ्ना धारणा सार्वजनिक गर्दै महाधिवेशन नगरेर कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएकोमा कडा आलोचना गरेका हुन्। (सेतोपाटीबाट)