याम्पाका किसानलाई दूध उत्पादनमा १८ लाख अनुदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    याम्पाका किसानलाई दूध उत्पादनमा १८ लाख अनुदान

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७८, सोमबार

    बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध विक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप अनुदान रकम वितरण गरेको हो ।

    साेमबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले कृषकलाई अनुदान बापतको रकम वितरण गरेका छन् । साे अवसरमा थापाले गाउँपालिका कृषकमैत्री रहेको बताउँदै यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

    याम्पा दुग्ध उत्पादक सहकारी मार्फत् दूध विक्री गर्ने एक सय ५२ कृषकले अनुदान बापतको रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी याम्पास्थित नमूना गाई फार्मका सञ्चालक पुष्प गैह्रेले रु एक लाख १९ हजार अनुदान रकम प्राप्त गरेका छन् । त्यस्तै सबैभन्दा कम पाउनेले रु तीन हजार बुझेका छन् ।

    उक्त सहकारीबाट वार्षिक १३ लाख लिटर दूध विक्री भएको थियो । “कृषकलाई पशुपालनतर्फ आकर्षित गराउन उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएका हौ, यस कार्यक्रमले यहाँका कृषक उत्साहित छन्,” थापाले भने ।

    याम्पा दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल घिमिरेले सहकारीमार्फत् बन्दिपुरका अलवा आँबुखैरेनी र गोरखाको पालुङटारका कृषकले पनि दूध विक्री गर्दै आएकाे जानकारी दिए ।

    गाउँपालिकाले बन्दिपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध विक्री गर्ने ६१ जना कृषकलाई यसअगाडी रु एक लाख ६० हजार वितरण गरिसकेको छ । उक्त सहकारीमार्फत् दूध विक्री गर्नेले रु पाँच हजारदेखि रु २६ हजारसम्म अनुदान रकम पाएका छन् । उक्त सहकारीमार्फत् व्यास र भानुका कृषकले पनि दूध विक्री गर्दै आएका छन् ।

    उत्पादनका आधारमा दिइने अनुदानका कारण गत वर्षभन्दा यस वर्ष दूध उत्पादनमा वृद्धि आएको छ । दूधमा अनुदान पाउनुभएका कृषक पुष्प गैह्रेले अनुदान दिने व्यवस्थाले पशुपालन गर्ने कृषकलाई सहयोग पुगेको बताउनुभयो ।

    बन्दिपुरलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको र दूध उत्पादन वृद्धि गर्न पशुपालनतर्फ कृषकलाई आकर्षित गराउन जरुरी रहेको गाउँपालिकाले जनाएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेपछि गाउँपालिका दूधमा आत्मनिर्भर हुने र त्यसकै लागि कृषकलाई अनुदानको व्यवस्था मिलाइएको बताइएको छ ।