तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास-१ निवासी ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनको सोमबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उनमा साउन १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
१३ सङ्क्रमित थपिए
यस्तै तनहुँमा आज १३ कोरोना सङ्क्रमित थपिएका छन् । ६४ जनाको परीक्षण गर्दा ८ महिला र ५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
निषेधाज्ञा उल्लङ्घन गर्दै सर्वसाधारणले मापदण्ड नअपनाएपछि जिल्लामा कोरोना सङ्क्रमण बढिरहेको छ ।
यो सँगै तनहुँमा ५ हजार ७ सय ५५ जना सङ्क्रमित भएका छन् । तीमध्ये ५ हजार १ सय ७४ निको भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ४ सय ६६ जना सक्रिय संक्रमित छन् ।
यस्तै सोमबार गण्डकी प्रदेशमा ५ सय ७७ जना संक्रमित थपिएका छन् । १ हजार २ सय ४ जनाको पिसीआर परीक्षण गरिएको थियो । थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै कास्कीका १ सय ९६ जना रहेका छन् । नवलपुरका ९८ जना, स्याङजाका ८६ जना, लमजुङका ६२ जना, बाग्लुङका ६० जना, गोरखाको ४९ जना, तनहुँका १३ जना, म्याग्दीका ७ जना, पर्वतका ५ जना र मुस्ताङका १ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशमा हालसम्म ७२ हजार ६ सय २८ जना संक्रमित भएका छन् । ६५ हजार ५ सय ९१ जना निको भएका छन् । ५ हजार ८ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।
सोमबार गण्डकीभर तनहुँ, कास्की, स्याङजा, नवलपुर र म्याग्दीका १÷१ जनाले संक्रमितको मृत्यु भएको छ । यो संगै गण्डकीमा मृत्यु हुनेको संख्या १ हजार १ सय ४१ पुगेको छ ।