आठ सचिवको सरुवा, गृहमा टेकनारायण पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आठ सचिवको सरुवा, गृहमा टेकनारायण पाण्डे

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७८, सोमबार

    काठमाडौं : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश र निकायको प्रशासनिक बागडोर सम्हालेका आठ सचिवको सरुवा गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरको हो ।

    मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टेकनारायण पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

    यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्माको रक्षा मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका सचिव डा. वैकुण्ठ अर्यालको सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।

    जल तथा उर्जा आयोगका सचिव सागरकुमार राईको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा भएको छ ।

    दुई प्रदेश प्रमुख सचिव तानिए

    आठ महिनाअघि सचिवमा बढुवा भएपछि प्रदेश २ को प्रमुख सचिवमा पदस्थापन भएका प्रदेश २ का प्रमुख सचिव गोकर्णमणी दुवाडीको प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ । यस्तै ६ महिनाअघि सचिवमा बढुवा भएर प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन भएका सचिव सुमनराज अर्यालको महालेखा नियन्त्रणको कार्यालयमा सरुवा भएको छ ।

    सहसचिवबाट सचिवमा बढुवा भएपछि अधिकांशको प्रदेश प्रमुख सचिवमा पदस्थापन भए पनि भर्खरै सचिवमा बढुवा भएका दुई सचिवको संघीय निकायमा पदस्थापन भएको छ । भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका सचिव किरणराज शर्मा र खगेन्द्रप्रसाद नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको हो । दुवै जना सचिव बढुवा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्ततर्फ हाजिर गर्दै आएका थिए ।

    तर प्रधानमन्धी तथा मन्त्रिपरिषद्को कार्यालयमा नै अतिरिक्तमा हाजिर गरिरहेका तीन जना सचिवको भने पदस्थापन हुन सकेन । सचिव कृष्णहरी पुष्कर, डा. रामप्रसाद घिमिरे र हरीप्रसाद मैनालीले बढुवा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्ततर्फ हाजिर गर्दै आएका छन् । (नेपाल प्रेसबाट)