दमाैली : सर्वसाधारणको लापरवाहीका कारण कोरोना सङ्क्रमण बढ्दै गएपछि तनहुँमा ‘मास्क अभियान’ शुरु गरिएको छ । सरकारले देशव्यापी रुपमा सञ्चालन गरेको ‘नेपाल मास्क अभियान’ अन्तर्गत स्वास्थ्य कार्यालय तनहुँले मङ्गलबारदेखि जिल्लाव्यापी रुपमा मास्क अभियान शुरुवात गरेको हो ।
अभियानको शुरुवात गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले लापरवाहीका कारण कोरोना सङ्क्रमण बढ्दै गएकाले सबै सचेत हुनुपर्नेमा जोड दिए । “सबैको सामूहिक प्रयासले मात्रै कोभिड–१९ न्यूनीकरण गर्न सकिन्छ, सबै मापदण्ड अपनाउन जरुरी छ,” उनले भने, “सबैले मास्क लगाऔ, कोरोनाबाट आफू बचौ र अरुलाई पनि बचाऔं ।”
अभियान अन्तर्गत दमौली बजारमा मास्क वितरण गरिनुका साथै सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेतनामूलक कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । “यो अभियानलाई जिल्लाभर सञ्चालन गर्छौ,” उनले भने, “कोरोनाबाट बच्ने मुख्य उपाय भनेकै दूरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक भीडभाड नगर्ने हो ।”
मास्क अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँले पनि सचेतनामूलक कार्यक्रम गरिरहेको छ । जिल्लाका विभिन्न प्रहरी इकाईमार्फत् सर्वसाधारणलाई मास्क वितरण गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “जिल्लाका विभिन्न प्रहरी इकाईमार्फत् मास्क अभियानलाई तीव्र पारेका छौ,” उनले भने ।
स्वास्थ्य कार्यालयले शुरुवात गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक दिनेशराज मैनाली, दमौली अस्पतालका मेसु डा. सुनिल पौडेल, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत सहभागी थिए ।