काठमाडौँ : कांग्रेसका संस्थापनपक्षीय जिल्ला सभापतिहरूले इतरपक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन्। ललितपुरको समिट होटलमा बिहीबार बसेको संस्थापनपक्षीय जिल्ला सभापतिहरूको बैठकले इतरपक्षीय सभापतिहरूको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन्।
बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहराले १४औँ महाधिवेशनलाई फोकस गरेर छलफल भएको बताए। उनले महाधिवेशनको समय सकिन लागेको जनाउँदै दश–बाह्र दिनमै महाधिवेशन सिध्याउन सक्ने बताए।
उनले भने, ‘१४औँ महाधिवेशनलाई नै फोकस गरेर छलफल गर्यौँ, किनभने १४औँ महाधिवेशनको समय सकिन लाग्यो, हामीले महाधिवेशन १०–१२ दिनमै सक्छौँ, यदि कांग्रेसको क्रियाशील विवाद सकियो भने हामीसँग अझै समय छ, छिटोभन्दा छिटो महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्छ र महाधिवेशन गर्नुपर्छ भन्ने विषयलाई नै फोकस गरियो।’
नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति दिनेश यादवले कांग्रेसले सप्तरी र बारा जिल्लालाई पनि नयाँ क्रियाशील सदस्यता दिनुपर्ने माग राखेको बताए।
उनले जिल्लाका केही वडाले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राखे।
उनले भने, ‘देशभर क्रियाशील छानबिन सदस्य गठन गरेको कांग्रेसले देशभर क्रियाशील छानबिन सदस्य गठन गरेको छ, सप्तरी र बाराजस्तो जिल्लालाई नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र गरेको छ, सभापतिको भेलाले सप्तरी र बाराको नयाँ क्रियाशील सदस्यताको फाइल दिनुपर्छ भनेर एकमतले कुरा उठाएका छौँ।’
नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति रुद्रबहादुर खड्काले कांग्रेसको १४औँ अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत, छिटो सम्पन्न गर्नुपर्नेबारे छलफल गर्नुपर्नेमा जोड दिए।
उनले बारा र सप्तरी जिल्लाका केही वडामा क्रियाशील सदस्यताको विषयलाई निकालेर महाधिवेशन अल्मल्याएको आरोप लगए। महाधिवेशन टार्नका लागि शीर्ष नेताहरूले बेवास्ता गरिरहेको उनको भनाइ छ।
उनले भने, ‘यो अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत, छिटो सम्पन्न गर्नुपर्छ भन्ने ध्येयसाथ हामी छलफलमा छौँ, यही सुझावसहित केही बुँदा पनि सार्वजनिक गरेका छौँ, अहिले क्रियाशील सदस्यतालाई अल्मल्याएर विशेष महाधिवेशनमा लैजाने भ्रम छ, यो भ्रममा रहनु हुँदैन, क्रियाशील सदस्यताको टुंगो लगाउन शीर्ष नेताहरूलाई जिम्मेवारी दिइएको छ, उहाँहरूले त्यसलाई बेवास्ता गरेजस्तो हामीले बुझेका छौँ, बेवास्ताको पछाडि अधिवेशन अल्मिलियोस्, अधिवेशन गर्ने भनेर प्रेशर दिने तर क्रियाशीलले अधिवेशनभन्दा अघिका काम रोकिराख्ने प्रपञ्च अन्त्य होस्।’
नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सभापति प्रदीप सुनुवारले क्रियाशील सदस्यहरूको विवाद नरहेको बताए। उनले सर्वपक्षीय रूपमा बनेको छानबिन समितिले सर्वपक्षीय रूपमै निर्णय गरेकाले विवाद नरहेको बताए।
निर्णय भइसकेको कुरा निकाल्नु अधिवेशनलाई धकेल्ने कुरा मात्रै भएको उनको गुनोसो छ। उनले भने, ‘क्रियाशील सदस्यहरूको विवाद छैन, विवाद भए छलफल हुन्थ्यो, यसमा सर्वपक्षीय छानबिन समिति बनेको छ, यसले सर्वपक्षीय रूपमै निर्णय गरेको छ, निर्णय भइसकेको कुरा निकाल्नु अधिवेशनलाई धकेल्ने काम मात्रै हो।’
कांग्रेस बाराका जिल्ला सभापति जयचन चौरासियाले विधिसम्मत रूपमा बारा र सप्तरीका क्रियाशील सदस्यहरूको फाइल खोल्नुपर्ने बताए।
उनले भने, ‘अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ विधिसम्मत, बारा र सप्तरीको क्रियाशीलका फाइल खोलिएको छैन, त्यसलाई विधिसम्मत रूपमा अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ र विधिसम्मत आएका नयाँ र पुराना समावेशी भएर आएका नयाँ र पुराना, सबै सदस्यलाई सदस्यता दिनुपर्छ।’
उनले विधिसम्मत आएका नयाँ र पुराना समावेशी भएर आएका नयाँ र पुराना, सबै सदस्यलाई सदस्यता दिनुपर्ने माग राखे। (देशसन्चारबाट)