दुलेगाैडा : खुकुलो निषेधाज्ञा र सर्वसाधरणको लापरवाहीका कारण तनहुँमा कोरोना संक्रमित दिनानुदिन बढेका छन् । बिहीबार जिल्लामा १ सय २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२ सय १ जनाकाे पिसीआर र एन्टिजेन परीक्षण गरिएको थियो । संक्रमितको दर ५० प्रतिशत हुन आउँछ । आइतबारदेखिकाे संक्रमणदर विश्लेषण गर्दा जिल्लामा कोरोना ह्वात्तै बढेको देखिन्छ । बुधबार ३४ जना कोरोना संक्रमित थपिएका थिए । ६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
मंगलबार १ सय ४४ जनाकाे परीक्षण गरिएकामा ५६ जना संक्रमित थपिए । सोमबार १३ जनामा संक्रमण पुष्टी भएको थियो । उक्त दिन ६४ जनाको परीक्षण गरिएको थियो । आइतबार ५१ जनाको परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टी भएको थियो ।
जिल्लामा हालसम्म ६ हजार १ सय १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ हजार ४ सय ४३ जनाले कोरोनालाई जित्न सफल भए । समाचार तयार पार्दा सम्म सक्रिय संक्रमितको संख्या ५ सय ५० रहेको छ । पछिल्लो ५ दिनको अवधिमा जिल्लाका २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।
योसँगै तनहुँमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय २२ पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । सर्वसाधारणको अटेरीपनाको कारण संक्रमण बढ्दै गईरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी बताउँछन् । ‘बजारमा अनावश्यक भिडभाड गरेको पाईन्छ । मास्क लगाउने लगायत स्वास्थ्यको मापदण्डप्रति हेलचक्रयाँई गरेको कारण अवस्था जटिलता उन्मुख हुदैँछ ।’ यही अवस्थामा संक्रमण बढ्दै गए कडा लकडाउन गर्नुको विकल्प नभएको उनी बताउँछन् ।
जिल्लामा संक्रमणदर घटाउन स्वास्थ्य कार्यालयले मास्क अभियान चलाएको छ । तर, सर्वसाधारणको अटेरीपनाको अगाडी मास्क अभियान प्रभावकारी हुन नसकेका अधिकारीले बताए । यसअगाडी खबरपुञ्ज डटकमसंगको कुराकानीमा तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पनि संक्रमणदर र अटेरीपन बढिरहेमा बजार बन्दसहितको कडा निषेधाज्ञा गर्ने बताएका थिए ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।