आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्बिर टाँसेर पुजाअर्चना गरिँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्बिर टाँसेर पुजाअर्चना गरिँदै

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, शुक्रबार

    काठमाडौं : आज नागपञ्चमी । हिन्दु धर्मालम्बीहरुले साउन शुक्ल पञ्चमीका दिन हरेक वर्ष नागपञ्चमी मनाउँछन् । परम्पराकाअनुसार नागपञ्चमीका दिन घरको मूलढोकामा नागको तस्बिर टाँसेर पुजाअर्चना गरी मनाउने गरिन्छ । 

    घरको मूलढोकामा नागको तस्बिर टाँगेर पुजा गर्दा वर्षभरि घरमा नाग, सर्प, बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

    हरेक वर्ष नागपञ्चमीको दिन नाग देवता र भगवान शिवको पूजा–आरधना  गरिन्छ । भगवान शिवको घाँटीमा नाग बस्ने गरेको र भगवान विष्णु जलमाथि शेष नागको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा पनि मान्ने प्रचलन रही आएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

    नागपुजा प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पुजा गर्ने परम्परा बसेको हो । 

    बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । नागसँग जोडिएका धार्मीक कथाहरु धेरै नै छन् ।

    वर्ष दिनको एकपटक घरघरमा नागको चित्र टाँसेर होस् या नागअंकित शीलामा पुजाआजा गरेर होस् नागपञ्चमी मनाइने गरिन्छ । 
    कलश, दही, दूबो, कुश, सिन्दूर, ध्वजा, गन्धादिले मूलद्वारमा नागको पूजाअर्चना गरिन्छ । चित्रमा ८ प्रकारका एकआपसमा बटारिएका अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पुजा हुन्छ ।