खैरेनीटार–भिमाद सडक स्तरोन्नति शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खैरेनीटार–भिमाद सडक स्तरोन्नति शुरु

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, शुक्रबार

    दुलेगौँडा : खैरेनीटार–भिमाद सडकको स्तरोन्नति थालिएको छ । ठेक्का पाएको एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले सडक फराकिलो बनाउन काम शुरु गरेको हो । बुधबारदेखि सडक फराकिलो बनाउने काम शुरु भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले जानकारी दिए ।

    ‘पहिलो चरणमा सडक कटिङको काम हुन्छ । त्यसपछि पुरानो कालोपत्रे उप्काएर नयाँ कालोपत्रेको गर्ने हो,’ उनले भने । खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको ५ किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्रे गरिने पौडेलले बताए ।

    ७ करोड ४५ लाख २१ हजार रुपैयाँमा ठेक्का लगाईएको हो । गत वैशाख १३ गते एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँसँग निर्माण सम्झौता भएको थियो । वर्षा र कोरोनाको कारण काम शुरु हुन सकेको थिएन । २०७९ कार्तिक १३ गते काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    खैरेनीटार–भिमाद सडकको ठाउँ–ठाउँमा कालोपत्रे उप्किएर ठूला-ठूला खाल्डा बनेका छन् । खाल्डामा वर्षाको पानी जम्दा पोखरी बनेको छ । शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार र म्याग्दे गाउँपालिका–५ थाङ्दीदेखि भिमादको पुलसम्म सडकको दुरावस्था छ । कतिपय स्थानमा सडकको कालोपत्रे देख्नै मुस्किल हुने अवस्थामा पुगेको छ । भिमाद नगरपालिकाको प्रवेशद्धारमा पनि सडकको हालत बिजोग छ ।

    यो वर्ष उच्च वर्षा हुदाँ झन ठाउँ–ठाउँमा पहिरो खसेर जोखिम बढेको छ । कतिपय स्थानमा सडक साँघुरो हुदाँ दुईतर्फी सवारी आउजाउ गर्न नमिल्ने अवस्थामा छ । कालोपत्रे सडक छिचोल्न मुस्किल हुदाँ यो बाटो हुँदै दैनिक यात्रा गर्ने यात्रु हैरान छन् ।

    तनहुँको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक यहीँ हो । यस्तै, नवलपुर, पाल्पा र स्याङजाका विभिन्न स्थानका सवारी र यात्रु समेत यही सडक भएर आवतजावत गर्ने गर्दछन् ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।