बन्दीपुर : चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण भइरहेको मिनी ग्रेटवालको प्रचारप्रसार गर्ने उद्देश्यले गाउँपालिकाको बैठक शुक्रबार सोही ठाउँमा बसेको छ ।
मणिमुकुन्देश्वरी पर्खाल (मिनीग्रेटवाल) को प्रचारप्रसार गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित गाउँपालिकाको ८९ औं कार्यपालिका बैठक बन्दीपुर गाउँपालिका–२ स्थित मिनीग्रेटवालको प्रवेशविन्दु थानीमाई मन्दिर परिसरमा सम्पन्न भएको हो । यस ठाउँको प्रचारप्रसार गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले कार्यालय भन्दा बाहिर बैठक बसिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।
बैठकले गत असारमा आएको बाढीपहिराले घर क्षति हुने परिवार र मृतक परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको छ । बाढीपहिराबाट मृत्यु हुनेलाई प्रति मृतक रु ३० हजार, पूर्ण घर क्षति हुनेलाई रु ३० हजार आंशिक घर क्षति हुनेलाई रु दश हजारका दरले राहत वितरण गरिनेछ । बाढीपहिराबाट बन्दीपुर गाउँपालिका–२ तामुङका दुई जनाको मृत्यु भएको थियो । बैठकले विपद् व्यवस्थापन अन्तर्गत २ सय ५० थान जाली खरिद गर्नुका साथै थानीमाई मन्दिरमा जीर्णोद्वार गर्ने निर्णय समेत गरेको थापाले बताए।
पर्यटकीय हबका रुपमा परिचित गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा मिनी ग्रेटवाललाई डेढ करोड बजेट विनियोजन गरेको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ ।
गत वर्षदेखि निर्माण शुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिदै पर्यटकको रोजाइमा पर्न थालेको छ । बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका छन् । “बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौ, मिनी ग्रेटवाल निर्माणका लागि सङ्घ सरकारले पनि यो वर्ष बजेट सहयोग गरेको छ,” उनले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडी बढाउन सहज भएको छ । उहाँका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । गाउँपालिकाले मिनी ग्रेटवालको थप काम गर्नका लागि रु पाँच करोडको टेण्डर गरिसकेको छ ।
कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत इष्टमेट गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाख भन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् ।