१२ पुल शिलान्यास, सम्पन्न एउटा भएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    १२ पुल शिलान्यास, सम्पन्न एउटा भएन

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७८, आईतवार


    दुलैगौडा : वर्षामा सडक सञ्जालबाट सम्पर्क विच्छेद हुने जरेवरका बासिन्दालाई यो बर्खामा पक्की मोटरेवल पुलबाट खोला तर्न पाउने आश थियो । भिमाद नगरपालिका–८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेबर जोड्ने गरी वर खोलमा शिलन्यास गरेको पुल गत २२ असारमा सक्नुपर्ने सम्झौता हो ।

    मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेञ्चर पोखराले ठेक्का लिएको यो पुलको चार वटा पिल्लर ठडिने बाहेक काम भएको छैन् । यति बेला खोलामा उर्लेको भेलले काम समेत रोकिएको छ ।

    हिउँदमा कुलो जत्रै भएर बग्ने बुडुवा खोला यतिबेला तर्न नसक्ने अवस्थामा छ । यहाँका स्थानिय घाँस दाउरा र मेलामात गर्न बन्दै गरेको अधुरो पुलबाट जोखिम मोलेर तर्न बाध्य छन् । बुडुवा खोला तरेर लोकतान्त्रिक मोटरमार्गमा सवारी गुडाउने चालकलाई पनि दुख छ ।
    बर्षौदेखी मोटरेवल पुल चाहियो भन्दै आएका स्थानियको मागलाई सुनवाई गर्दै गण्डकी प्रदेश सरकारको लगानीमा गत पुषमा बुडुवा खोलामा पुल शिलन्यास गरियो । गणेश कुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ ।

    पुलको काम सक्न १५ प्रतिशत बढी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताए । ‘यतिबेला पुल बनाएर सकिन्थ्यो होला । बाढी आएर काम रोकियो’, उनले भने । पुल र सडकको बिचमा फिल्डिङ गर्ने काम बाँकी रहेको उनी बताउँछन् ।

    ऋषिङ गाउँपालिका–४ मधुवन र ५ रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेवल पुलको पनि सम्पन्न गर्नुपर्ने मिती कटेको छ । ठेक्का सम्झौता अनुसार गत २५ असारमा यो पुल ठडिएर मोटर गुड्न थाल्नु पर्ने हो । तर, पनि पुल तत्कालै सम्पन्न हुने छनक देखिन्न । ज्वाला खोला सहित शालिकराम करिडोरमा मात्र ४ वटा पुल शिलन्यास गरिएको थियो । हालसम्म एउटा पनि सम्पन्न भएको छैन् । रिस्ती खोलामा मात्रै दुई पुल शिलन्यास भए । दुवै पुल निर्माणधिन अवस्थामा छ ।

    यी लगायत तनहुँमा गत आर्थिक बर्ष २०७७÷७८ मा गण्डकी प्रदेश सरकारको लगानीमा मोटरेवल पुल शिलन्यासको लहर चलेको थियो । जिल्लाका १२ नदी, खोलामा मोटरेवल पुल बनाउन थालिएको हो । तर, एउटा पनि सम्पन्न नभएको पुर्वाधार बिकास कार्यालय तनहुँले जनाएको छ । ६ वटा पुल असारमा सकिनुपर्ने थियो । ३ वटा अबको असोजसम्म सम्पन्न गर्ने म्याद छ । बाँकी पुलको म्याद आगामी आर्थिक बर्षसम्म रहेको छ ।

    कोरोनाका कारण पुल निर्माणमा ढिलाई भएको पुर्वाधार बिकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगाना बताउँछन् । उनी भन्छन्, ‘कोरोना कहरमा निर्माण कम्पनीले काम गर्न खोजेका हुन् । लक्ष्य अुनसार सकेनन् ।’ निर्माणधिन सबै पुलको कार्य प्रगती सन्तोषजनक देखिएको उनले बताए । कोरोना कहरमा म्याद सकिएका निर्माणधिन योजनालाई सरकारको निर्णय अनुसार ६ महिना फेरी म्याद थपिने उनले जानकारी दिए । म्याद सकिएका पुल ६ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन दिने उनको भनाई छ ।

    गत बर्ष शिलन्यास भएका २ वटा पुलको काम भने अन्तिम चरणमा पुगेको छ । रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको ढुंगानाले जानकारी दिए । ‘दुवै पुलको ९० प्रतिशत काम भएको छ । अब स्ल्याब राख्ने काम मात्र बाँकी हो’, उनले भने ।

    १२ पुललाई २९ करोड १ लाख २९ हजार रुपैयाँ भुक्तानी भईसकेको छ । यो आर्थिक बर्ष प्रदेश सरकारले ती पुललाई २६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सबै पुल सम्पन्न गर्न ८९ करोड ६६ लाख ६१ हजार २ सय ४० रुपैयाँमा सम्झौता भएको हो ।

    चालु बर्षमा पनि गण्डकी प्रदेश सरकाले तनहुँका १४ मोटरेवल पुल निर्माणका लागी बजेट विनियोजन गरेको छ । १४ पुललाई ३ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको पुर्वाधार विकास कार्यालय तनहुँले जानकारी दिएको छ । बजेट विनियोजन भएपनि पुलको उपयोगिता अध्ययन गरी माटो परिक्षण भएपछि डिपिआर तयार भई स्रोत सुनिश्चितता हुदाँ बल्ल पुल निर्माणको काम थालनी हुने जनाईएको छ ।