काठमाडौ : तालिबानले कब्जा गर्न लागेको अफगानिस्तानमा १ हजार ५ सय नेपाली नागरिक रहेको सरकारले बताएको छ ।
उनीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयले नेपालमा रहेका अमेरिकी, बेलायती दूतावास र संयुक्त राष्ट्र संघीय निकायमार्फत पहल गरिरहेको बताएको छ ।
सरकारसँग रहेको औपचारिक तथ्यांकमा १५ सय नेपाली राजधानी काबुलमा रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
‘नेपालस्थित अमेरिकी दूतावास, बेलायती दूतावास, युरोपेली युनियन र संयुक्त राष्ट्रसंघलाई उनीहरूका नागरिक र कर्मचारीको उद्धार गर्दा नेपालीलाई पनि उद्धार गर्न आग्रह गरेका छौं,’ लम्सालले भनिन् ।
बिदाको दिन भएपनि नेपालस्थित अमेरिकी र बेलायती लगायत दूतावासका अधिकारीहरूसँग नेपालीको उद्धारका लागि कुरा भइरहेको उनले बताइन् ।
आइतवार नै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले सरकारसँग १५ सय नेपाली मात्र अफगानिस्तानमा रहेको जानकारी रहेको बताए ।
अनौपचारिक ढंगले गएका नेपालीलाई सम्पर्कमा आउने सूचना जारी गर्ने तयारी रहेको उनले जानकारी दिए ।
सरकारले अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ ।
जसमा गृह र पर्यटन मन्त्रालयका अधिकारी रहने छन् । संयन्त्रले दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा काम गरिरहेको प्रवक्ता लम्सालले बताइन् ।
‘अफगानिस्तानमा रहेका नेपालीको अवस्था, उद्धार प्रयास लगायतको विषयमा आज साँझसम्ममा विज्ञप्ति जारी गर्ने तयारी गरेका छौं,’ लम्सालले भनिन् ।
अफगानिस्तानमा रहेका अधिकांश नेपाली दूतावासहरूमा सुरक्षा गार्डका रूपमा काम गरिरहेको सरकारले बताएको छ ।