तनहुँ : वन सम्बन्धी र काठ चोरी दुई फरक मुद्दामा सजाय पाएका प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ५४ वर्षीय नन्दबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
निजविरुद्ध तनहुँ जिल्ला अदालतले विसं २०५४ पुस २४ गते र विसं २०७० भदौ १९ गते एक वर्ष एक महिना कैद र रु ४७ हजार छ सय पाँच जरीवानाको फैसला सुनाएको थियो । निज विसं २०५४ पुस २४ गतेदेखि फरार सूचीमा थिए ।
पक्राउ परेका गुरुङलाई आवश्यक कारवाहीका लागि आज अदालत दाखिला गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
यसैगरी लागुऔषध मुद्दामा दुई वर्षदेखि फरार रहेका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–४ अश्राङ बस्ने २९ वर्षीय राजु आले रहेका छन् । निजलाई जिल्ला अदालत तनहुँले विसं २०७६ जेठ २६ गते ९ महिना २५ दिन कैद र रु पाँच हजार जरीवानाको फैसला सुनाएको थियो । निजलाई पनि आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको प्रहरीले जनाएको छ ।