अफगानिस्तान युद्धः फसेका नेपाली नागरिकलाई सम्पर्कमा आउन अनुरोध, कस्तो छ उद्धारको तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अफगानिस्तान युद्धः फसेका नेपाली नागरिकलाई सम्पर्कमा आउन अनुरोध, कस्तो छ उद्धारको तयारी

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७८, आईतवार

    काठमाडाै : तालिबान लडाकुहरूले अफगानिस्तानका महत्त्वपूर्ण सहरहरू आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँ भएका नेपाली नागरिकहरूलाई नेपाल सरकारले आफ्नो सम्पर्कमा आउन आग्रह गरेको छ।

    तालिबान लडाकुहरू आइतवार काबुलको बाहिरी क्षेत्रमा प्रवेश गरेका छन्। त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको छ। यसैबीच अफगान राष्ट्रपति अशरफ गनीले देश छोडेका विवरणहरू प्रकाशित भएका छन्।

    केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन्। तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेका छन्।

    यसअघि अफगानिस्तानबाट केही दिनयता भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका नेपाली नागरिकहरूले धेरैजसो रोजगारदाताले अगस्ट महिनाभित्रै स्वदेश फर्किन भनिसकेको र कतिपयले फर्किने टिकट समेत काटिसकेको जानकारी नेपाली अधिकारीलाई दिएका थिए।

    के भन्यो नेपाल सरकारले?

    आइतवार साँझ काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा व्यवस्था गरिएको उल्लेख गरिएको छ।

    उक्त पोर्टलमा नामसहित उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउनुहुन सम्बन्धित व्यक्ति वा परिवारका सदस्यलाई मन्त्रालयले आग्रह गरेको छ। त्यस्तै उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सएपबाट पनि सुविधा दिने बताइएको छ।

    त्यस्तो सेवा प्राप्त गर्नका लागि कन्सुलर सेवा विभागको मोबाइल नम्बर +977-9749326458 र +977-9749326459 को व्यवस्था गरिएको छ।

    “काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूमा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन नेपाल सरकारले मित्र राष्ट्रहरू संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसङ्घका कार्यालयहरूलाई औपचारिक पत्राचार गरी अनुरोध गरिसकेको छ,” विज्ञप्तिमा भनिएको छ।

    काबुलमा अफगान प्रहरी

    त्यस्तै अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको र आवश्यक सहयोगका लागि दूतावासको फोन नम्बर र इमेलहरूमार्फत् सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

    अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूलाई पनि त्यहाँ कार्यरत नेपालीहरूको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना उपलब्ध गराउन सरकारले आग्रह गरेको छ। (विविसीबाट)