दमाैली : तनहुँको सदरमुकाम दमौलीमा विगत एक हप्तादेखि फोहर नउठ्दा बजार क्षेत्र दुर्गन्धित हुन थालेको छ । व्यास नगरपालिका–१ चारकुनेमा अस्थायी रुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइड भरिएपछि दमौली बजारमा फोहर उठ्न नसकेको हो ।
नगरपालिकाले यस अगाडी फोहर बिसर्जन गर्दै आएको व्यास नगरपालिका–३ भतेरी गत वर्ष मादी नदीले कटान गरिदिएपछि चारकुनेका रामदेव पन्थको जग्गा भाडामा लिएर त्यहाँ नकुहिने फोहर बिसर्जन गर्न थालेको थियो । नगरपालिकाले कुहिने फोहर भने व्यास नगरपालिका–१० मा मल उत्पादनमा प्रयोग गर्ने गरेको छ ।
“अस्थायी रुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइड भरिएपछि अहिले फोहर उठाउन कठिन भएको छ,” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले भने, “ठाउँ खोजेर फोहर उठाउने प्रयास गर्दैछौ ।” उनका अनुसार व्यास नगरपालिका–१३ मा फोहर बिसर्जन गर्नका लागि ठाउँ हेरिएको र स्थानीयवासीसँग एक चरणमा छलफल गरिएको छ । “वडाध्यक्ष सहित स्थानीयवासीसँग एक खालको सहमति भएको छ,” उनले भने, “एक÷दुई दिनमा बजार क्षेत्रको फोहर उठाउँछौ ।”
व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नजिकै बुल्दीखोलाको आसपासमा पनि फोहर बिसर्जनका लागि नगरप्रमुखले ठाउँ हेरेको सिग्देलले बताए। “मेयर साब पनि यसमा लागिरहनुभएको छ, मेयर साबले हेरेको ठाउँका स्थानीयवासीसँग पनि छलफल गर्दैछौ,” उनले भने ।
दमौलीको फोहर व्यवस्थापनले नगरपालिकालाई बेला–बेलामा समस्या उत्पन्न गराउँदै आएको छ । वर्षौदेखि फोहर फाल्दै आएको भतेरी मादीले कटान गरिदिएपछि त्यहाँ फोहर बिसर्जन गर्न छाडिएको छ ।
व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । बजार क्षेत्रमा फोहर उठ्न नसक्दा दुर्गन्धित हुन थालेकाले नगरपालिकाले यसको दीर्घकालिन समाधानको बाटो खोज्नुपर्ने दिपक भट्टराईले बताए। नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।