काठमाडौ : सरकारले अफगानिस्तानमा विकसित घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल र शीघ्र उद्धार गर्ने,’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले भने, ‘नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक कार्य अगाडि बढाउन निर्देशन दिने ।’
यसअघि प्रधानमन्त्री शेरबहादुर ट्विटरमा एक सन्देश लेख्दै अफगानिस्तानमा फसेका नेपालीहरूको उद्धारका लागि पहल भइरहेको जनाएका थिए ।
अफगानिस्तानमा विद्रोही तालिबानले कब्जा जमाएपछि त्यहाँ कैयन नेपाली अलपत्र परेका छन् ।
सरकारको आधिकारिक तथ्यांकअनुसार त्यहाँ १५ सय नेपाली रहेको बताइए पनि अवैधानिक रूपमा अफगानिस्तान छिर्नेहरूको संख्या समेत ठूलो रहेको आशंका छ ।
अफगानिस्तानमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक समेत आउन सकेको छैन ।