तनहुँ : कोरोना जोखिम बढेपछि तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली पार्क र ट्रि हाउस बन्द गरिएको छ । पछिल्लो समय चर्चित बनेको उक्त ठाउँमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको र तनहुँमा कोरोनाको जोखिम बढेका कारण केही समयका लागि बन्द गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना फैलिने जोखिमलाई मध्यनजर गर्दै हाललाई बन्द गर्न निर्देशन दिएकाले अर्को सूचना जारी नभएसम्मका लागि ट्रि हाउस बन्द गर्ने निर्णय भएको सामुदायिक वनका अध्यक्ष इश्वर रानाभाटले जानकारी दिए । उक्त ट्रि हाउसमा सामान्य दिनमा दैनिक एक सय बिदाको दिनमा चार पाँच सय आन्तरिक पर्यटक पुग्ने गरेका थिए ।
डिभिजन वन कार्यालयको रु १२ लाख ५० हजारको लागतमा उद्यान सहितको ‘ट्रि हाउस’ निर्माण गरिएको थियो । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो ।
पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीय स्थल बनाउने उद्देश्य बमोजिम उद्यानका साथै रुखमा घर बनाइएको हो । रुखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच÷सात जना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाएको छ ।