तनहुँ : नेकपा एमाले औपचारिक रुपमा फुटेपछि एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले कार्यकर्तालाई विचलित नभई मूलधारमा अडिग रहन आव्हान गरेका छन् । माधव नेपालले अलग्गै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि सिग्देलले इमानदार कार्यकर्ता र सदस्यलाई विचलित नहुन आग्रह गरेका हुन् ।
“अघिल्लो पुस्ताले धेरै चुनौतीहरूको सामना गर्दै एकीकृत कम्युनिष्ट आन्दोलन यो पुस्तालाई बुझाएको थियो,” प्रतिनिधि सभा सदस्य समेत रहेका सिग्देलले भने, “अझ एकीकृत र विकसित कम्युनिष्ट पार्टी आगामी पुस्तालाई हस्तान्तरण गर्ने गहन दायित्व हाम्रो काँधमा छ।”
सिग्देलले यतिबेला प्रत्येक ईमान्दार पार्टी सदस्यले आफ्नो बुद्धि, विवेक र क्षमता केन्द्रित गर्नुपर्ने उल्लेख गरे । “धेरै कार्यकर्ताको त्याग बलिदानले बनेको नेकपा (एमाले)लाई व्यक्तिगत पद र प्रतिष्ठाको लोभमा माधव नेपालले फुटाउने जघन्य अपराध गर्नुभयो,” उनले भने ।