तनहुँ : गण्डकी प्रदेशमा पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गर्दा तनहुँका सांसद डोवाटे विक लगभग निश्चित थिए । शपथका लागि तयारी रहन भनेपनि अन्तिममा डोवाटे मन्त्री हुन पाएनन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनको नाम काटेर कास्कीका सांसद विन्दु थापालाई मन्त्री बनाए ।
त्यसलगत्तै मुखमन्त्री नेपालीको तनहुँमा आलोचना भयो । तनहुँ जन्मथलो भएका र उनकै बाबु गोबर्धन शर्माले राजनीतिमा ल्याएका डोवाटेलाई नेपालीले मन्त्री बन्न रोकेको चर्चा समेत चल्यो । मन्त्री बन्न नपाएका डोवाटेलाई मुख्यमन्त्रीले संसदको समिति सभापति प्रस्ताव गरेको पनि चर्चा चलेको छ ।
यस्तैमा सदरमुकाममा पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री पोखरेललाई काङ्ग्रेस सभापति एवं नगरप्रमुख वैकुण्ठ न्यौपानेले व्यङ्ग्य गरेका छन् । सम्बोधनको शुरुमै न्यौपानेले भने, “मुख्यमन्त्री ज्युलाई नगरपालिकाको तर्फबाट स्वागत छ, तनहुँकै मन्त्री सहित स्वागत गर्ने मन थियो तर पूरा हुन सकेन ।”