दुलेगाैडा : दिउँसो २ बजेतिर नुहाउनलाई तातोपानी तताउँदै थिइन् शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे घरेडीकी शिरमती गुरुङ । ५७ वर्षीया गुरुङले आफ्नै हरको कपडामा आगो सल्किएको चेत पाइनन् । शरीर पोल्न थालेपछि बल्ल महशुस भयो उनलाई ।
जब छालामा पोल्न थाल्यो उनी अत्तालिइन्, हारगुहार गरिन् । श्रीमान् र छोरा घरमा थिएनन् । छिमेकीले आएर उनको शरीरमा लागेको आगो निभाए, कपडा खोलिदिए । पूरै शरीर जल्नबाट जोगाए । तर, कम्मरमुनीको भाग भने नराम्ररी जलिसकेको थियो । त्यसपछि उनका श्रीमान् यामबहादुरले उपचारका लागि पोखरा रानीपौवाको मेडिप्लस हस्पिटल पु¥याए । यो घटना २०७७ माघ २३ गतेको हो ।
यामबहादुरले शिरमतीको मेडिप्लसमा १४ दिन उपचार गराए । ऋणधन गरेर उपचारमा २ लाख रुपैयाँ सकाए । तर, पैसा सकिएपछि घाउ निको नहुँदै घर फिर्ता ल्याउनुप¥यो । आगोले पोलेको घाउ निको नहुँदै घर ल्याउनुपर्ने उनको बाध्यता थियो । शरीरको घाउ त निको भएन झन् मनमा पनि घाउ थपियो । “ऋण खोजेको २ लाख पनि सकियो । आफूसित पैसा नभएपछि निको नहुँदै घर ल्याउनुप¥यो,” उनले अगाडी थपे, “अरु पैसा जुटाउन सक्ने अवस्था थिएन्, मेरो केही उपाय लाएन् ।”
घरमा ल्याएपछि ६ महिनासम्म शिरमतीको आगोले पोलेको घाउ निको भएको छैन । कम्मरमुनिको भाग पनि चल्न छाड्यो । विस्तारमै थला भइन् । तर, उपचार गर्न अस्पतालसम्म पु¥याउन सघाउने कोही भएन् । आर्थिक अवस्था कमजोर भएका उनले फेरि कसैसित हारगुहार गर्न सकेनन् । “सबैले अवस्था देखेकै थिए । कोसँग हारगुहार गर्ने,” भावुक हुँदै उनले भने ।
बुधबार घरेडी टोल विकास संस्थाको भेलामा पुगेका वडाध्यक्ष मनराज गुरुङले उनको दयनीय अवस्था देखे । साँझ फेसबुकमा उपचारका लागि सहयोगको अपिल गरे । बिहीबार विहानै वडाध्यक्ष गुरुङले नै थला परेकी शिरमतीको उपचार गराउन पोखराको हरियोखर्क अस्पताल पु¥याएका छन् । अस्पतालमा भर्ना गरेर उपचार प्रकृया शुरु भएको वडाध्यक्ष मनराज गुरुङले बताए ।
“फेसबुकमा सहयोगको अपिल गरेपछि आर्थिक सहयोगको प्रतिबद्धता आउँदै थियो । प्रतिबद्धता भएपनि पैसा आएको अवस्था थिएन । तर, उपचारमा ढिलाई होला भन्ने सोचेर अस्पताल ल्याईहाल्यौँ,” उनले भने । अस्पतालमा भर्ना गरेपछि २० हजार रुपैयाँ डिपोजिट शुल्क र औषधी खरिदसँगै खानबस्नका लागि बिरामीका श्रीमान् यामबहादुरलाई १० हजार रुपैयाँ उपलब्ध गराएको वडाध्यक्ष गुरुङले जनाकारी दिए । समाचार तयार पार्दासम्म उनको उपचारका लागि १२ हजार १ सय ५५ रुपैयाँ प्राप्त भएको उनले जनाए ।
६ महिनासम्म थला परेकी श्रीमतीलाई उपचारका लागि अस्पताल भर्ना गराएपछि निको हुने आश पलाएको यामबहादुरले बताए । “अस्पताल ल्याएपछि धेरै आश पलाएको छ । अब हातखुट्टा चलेर आफैँ उभिन सक्छ की भन्ने छ,” टेलिफोन कुराकानीमा उनले भने ।