चितवन : प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ ।
प्रेस चौतारी चितवनको शनिबार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढी, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो ।
सो पुरस्कारका लागि पत्रकार छनोट गर्न पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।
सो समितिले एक साता भित्र दुई जना पत्रकारको नाम सिफारिस गर्ने प्रेस चौतारी चितवनले जनाएको छ । दुई पत्रकारले जनही १०/१० हजार रकम पुरस्कार पाउनेछन् ।
एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्वसचिव एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कँडेलले पुरस्कारको संयोजन गरेका हुन् ।