


तनहुँ : कोभिड–१९ को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्याधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि बार अनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले आजदेखि बार अनुसार सेवा प्रवाह गर्न लागेको हो ।
कार्यालयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या अत्याधिक बढेकाले यस्तो व्यवस्था शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “कार्यालय तथा बजारमा मानिसको भीडभाडसँगै सङ्क्रमण पनि बढेको हुँदा मानिसको आवागमन कम गर्न अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगत रुपमा सेवा प्रवाहको व्यवस्था मिलाएका छौ,” बरालले भने ।
कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मङ्गलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् ।
बुधबार भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिका, बिहीबार आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भिमाद नगरपालिका र भानु नगरपालिका र शुक्रबार व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् ।