तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७८, सोमबार

    तनहुँ : तनहुँ जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि समस्या भएको छ । कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर स्थानीय तहमा गएपछि कारागारमा नयाँ स्वास्थ्यकर्मी नआउँदा नियमित स्वास्थ्य परीक्षणका लागि कैदीबन्दीलाई समस्या भएको हो ।

    विसं २०७६ असोजदेखि कारागार स्वास्थ्यकर्मी विहिन रहेको छ । अहेवको दरबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या आउँदा पनि कैदीबन्दीलाई दमौली अस्पतालसम्म लैजानुपर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए ।

    “यहाँ कार्यरत स्वास्थ्यकर्मी म्याग्दे गाउँपालिका गएपछि दुई वर्षदेखि कारागारमा स्वास्थ्यकर्मी छैनन्, यसले कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भइरहेको छ,” अधिकारीले भने, “दमौली अस्पतालसम्म लैजानुपर्छ, कारागारको सवारी छैन, हतकडी लगाएर हिँडेर जान कैदीबन्दी अप्ठ्यारो मान्छन् ।”

    कारागारमा हाल एक सय ११ थुनुवा र एक सय ७५ कैदीबन्दी गरी दुई सय ८६ जना छन् । कारागारमा नयाँ भवन बनेकाले कैदीबन्दी राख्न सहज भएको छ । “गर्मी, चिसो मौसममा कैदीबन्दी बिरामी भइराख्छन्, कारागारमै स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति हुन सके सहज हुन्थ्यो,” भने, “सम्बन्धित निकायमा पटक पटक यस बारेमा जानकारी गराएका छौ ।”

    कारागार व्यवस्था विभाग र प्रमुख जिल्ला अधिकारीलाई यस बारेमा जानकारी गराइएपनि हालसम्म केही सम्बोधन नभएको कारागारले जनाएको छ । “करारमा राख्नका लागि कारागारसँग बजेट छैन, स्थायी कर्मचारीलाई नै पठाउन विभागमा अनुरोध गरेका छौ,” उनले भने ।

    कारागारमा गत वर्ष नयाँ भवन निर्माण भएकाले त्यस यता कैदीबन्दीमा छाला रोगको समस्या भने नदेखिएको अधिकारीले बताउनुभयो । पर्याप्त खानेपानीको व्यवस्था भएकाले कैदीबन्दीले सरसफाईमा ध्यान दिएका छन् । साथै अहिले शौचालयको पनि समस्या नरहेको अधिकारीले बताए। “विगतका वर्षहरुमा खानेपानीको अभावले कैदीबन्दीलाई छालाको समस्या देखिन्थ्यो, शौचालय जान पनि पालो पर्खनुपर्ने बाध्यता थियो, तर अहिले त्यस्तो समस्या समाधान भएको छ,” उनले भने ।

    कोरोना कहरका कारण कारागारले हाल कैदीबन्दी भेटघाटलाई बन्द गरेको छ । बाहिरबाट मानिस आउँदा कोरोना जोखिम रहेकाले आफन्तलाई भेटघाट गर्न रोक लगाइएको कारागारले जनाएको छ । तनहुँ कारागारका अधिकांश कैदीबन्दीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।