काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महाधिवेशनको मुखमा क्रियाशील सदस्यता वितरणको काम रोक्नुपर्ने सुझाव दिएका छन् । उनले क्रियाशील सदस्यता नियमित रुपमा वितरण गर्नुपर्ने र अधिवेशनको वर्ष सदस्यता वितरण रोक्नुपर्ने सुझाव दिए । ‘क्रियाशील सदस्यतालाई लिएर सधैं हुने विवाद रोक्ने हो भने नियमित ढंगबाट अधिवेशन सकिने वित्तिकै क्रियाशील वितरण गर्ने र अद्यावधिक गर्ने काम गर्नुपर्छ,’ उनले भने, ‘अधिवेशन गर्ने वर्ष चाहिं क्रियाशील वितरण गर्ने काम रोक्नुपर्छ ।’
क्रियाशील सदस्यता छानविन समितिका प्रवक्ता समेत रहेका नेता पौडेलले अधिवेशनमा जीत–हारको अंकगणित हेरेर सदस्यता वितरण गर्ने प्रवृत्तिका कारण विवाद हुने गरेको बताए । ‘अधिवेशनको मुखमा क्रियाशील सदस्यता बाँड्ने र क्रियाशील सदस्यता हेरेर आफ्नो गणित मिलाउने प्रवृत्ति पार्टीमा छ, यसले गर्दा सदस्यलाई लिएर ठूलो विवाद हुने गरेको हो,’ उनले भने, ‘अनि चार वर्षको काम ४० दिनमा हतारमा अधिवेशनको मुखमा गर्न खोजेपछि समस्या बल्झिने नै भयो । अब यसलाई सच्याउनै पर्छ ।’
कांग्रेसको विधानमा पनि प्रत्येक वर्ष क्रियाशील सदस्यता वितरण गर्ने प्रावधान छ । तर कांग्रेसले भने महाधिवेशन नजिकिएपछि मात्रै सदस्यता वितरण गर्ने काम गर्दै आएको छ । नेता पौडेलले क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न पार्टीमा छुट्टै संयन्त्रको खाँचो औंल्याए ।
कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवादमा सैद्धान्तिक सहमति जुटाएको छ । वडा अधिवेशन आउन १० दिन बाँकी रहँदा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । सोमबार साँझ नेताहरुले सहमतिको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् ।