लागूऔषध राखेर पत्रकार फसाइएको प्रकरण : एसपी शाहविरुद्ध पनि छानबिन हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लागूऔषध राखेर पत्रकार फसाइएको प्रकरण : एसपी शाहविरुद्ध पनि छानबिन हुने

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७८, मंगलवार

    काठमाडौं : रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरेको घटनामा जिल्ला प्रहरी प्रमुखमाथि पनि छानबिन हुने भएको छ ।

    जिल्ला प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहले अर्का पत्रकार सञ्जय शहनीसँग गरेको टेलिफोन संवाद बाहिरिएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले एसपीविरुद्ध छानबिन गर्ने भएको हो ।

    केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले प्रश्न उठेका विषयमा छानबिन हुने बताए । प्रहरी प्रधान कार्यालयका अर्का एक उच्च अधिकृतका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को छानबिन समिति बनाउने तयारी छ ।

    सोमबार पत्रकार सम्मेलन गरेर रौतहट प्रहरीले पत्रकार महाशाखा जिल्ला शाखा रौतटहका सह–सचिव सञ्जय शहनीको योजनामा दुई प्रहरी मिलेर पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाएको दाबी गरेको थियो । प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको जनाएको थियो ।

    प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेका छन् । त्यसअघि उनले ‘एक्लै हो’ भनेर प्रश्न पनि गरेका छन् । यसले पूर्वयोजना अनुसार शाहको पनि घटनामा संलग्नता रहेको हुनसक्ने पत्रकारहरुले आशंका गरेका छन् ।

    तर अनुसन्धान अधिकृतहरुका अनुसार यसमा दुवै पाटो हुनसक्छन् । ‘पहिलो एसपीलाई पूर्वयोजनाबारे थाहा नहुन सक्छ, लागूऔषधसहित समातिएपछि स्वभाविकरुपमा सुनाएको मात्र पनि हुनसक्छ’ ती अधिकृतले सुनाए, ‘अर्को चाहिँ एसपीकै पनि मिलेमतो हुनसक्छ ।’

    यस विषयमा एसपी शाहलाई सम्पर्क गर्दा उनी बोल्न चाहेनन् । नेपाल पत्रकार महासंघ, रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले एसपी शाह आफैं घटनामा फस्ने भएपछि सबै दोष शहनीमाथि थुपरेको हुनसक्ने आशंका गरे । उनले भने, ‘एसपी शाहले कसको इशारामा काम गरे भन्ने पत्ता लगाउन जरुरी छ ।’

    पत्रकार सम्मेलनमा पनि महासंघका केन्द्रीय सदस्य शिव पूरीले प्रहरीले सहनीलाई दोषी देखाएर आफू पन्छिन खोजेको बताएका थिए । ‘एउटा पत्रकारलाई छोडेर फेरि अर्को पत्रकार फसाउन’ खोजेको भन्दै उनले आपत्ति जनाएका थिए । (अनलाइन खबरबाट)