तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहलाई बार अनुसार सेवा शुरु गरेको दुई दिनपछि घरेलु तथा साना उद्योग कार्यालयले पनि सोही तरिका शुरु गरेको छ । कार्यालयले बुधबारदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि बार अनुसार सेवा प्रवाहको शुरुवात गरेको हो ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्दै कार्यालयबाट प्रवाह हुने उद्योग र वाणिज्य प्रशासन सम्बन्धी सेवालाई व्यवस्थित गर्न स्थानीय तहलाई बार अनुसारको कोटा निर्धारण गरिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए ।
कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी र भिमाद नगरपालिकालाई आइतबार र बुधबार, व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकालाई सोमबार र बिहीबार र भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र म्याग्दे गाउँपालिकालाई मङ्गलबार र शुक्रबार सेवा प्रवाह गरिनेछ ।
ऋषिङ, घिरिङ र देवघाट गाउँपालिका सदरमुकामबाट टाढा पर्ने र सेवाग्राहीको सङ्ख्या न्यून हुने भएका कारण ती स्थानीय तहलाई भने जुनसुकै बार पनि सेवा प्रवाह हुने कार्यालयले जानकारी दिएको छ ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।