तनहुँ : तनहुँको बन्दिपुर गाउँपालिकास्थित होटल सञ्चालकमाथि ज्यान मार्ने उद्योगमा कारागारमा रहेका गायक प्रकाश कटुवालललाई जिल्ला अदालत तनहुँले डेढ वर्ष कैदको फैसला सुनाएको छ ।
बन्दिपुर गाउँपालिका–४ स्थित होटल डाँफेका सञ्चालक लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कटवाललाई जिल्ला न्यायधीश हरिशचन्द्र ढुङ्गानाको बिहीबारकाे इजलासलले एक वर्ष कैदको फैसला सुनाएको हो ।
सोही मुद्दाका अभियुक्त राजिन खड्का भन्ने राजिन विश्वकर्मा भने हालसम्म फरार रहेकाले उनको सजाय मुल्तबीमा राखिएको अदालतले जनाएको छ । कटुवाल विरुद्ध १५ हजार जरीवानाको समेत फैसला भएको जिल्ला श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिए । कटुवालले कैद भुक्तान गरिसकेकाले आजै रिहा भएको अदालतले जानकारी दिएको छ ।
व्यवसायी गुरुङकी छोरी सोनिकाले फागुन ५ गते कटुवाल विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । काठमाडौँबाट पोखरा जाने क्रममा कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी वान्ता गरेपछि कटुवाल र होटल व्यवसायी गुरुङबीच विवाद भएको थियो । सामान्य विवादले झगडाको रुप लिएपछि कटुवालले गुरुङलाई आक्रमण गरेको अभियोग लागेको थियो ।
व्यवसायी गुरुङमाथि रड प्रहार भएको थियो । गुरुङलाई तीन दिन पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार पश्चात् थप उपचारको लागि काठमाडौस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो । उक्त अस्पतालमा १३ दिन उपचार पश्चात् गुरुङ डिस्चार्ज भएका थिए ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।