म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको उद्यान सहितको ‘ट्रि हाउस’ मा पर्यटकको आगमन नरोकिएपछि स्वास्थ्य मापदण्ड अपनाएर प्रवेश खुल्ला गरिएको छ ।
कोरोना कहरका बीचमा बढी भीडभाड भएपछि केही समयका लागि बन्द गरिएको उक्त ठाउँमा टाढा–टाढाबाट समेत सर्वसाधारण आउन थालेपछि स्वास्थ्य मापदण्ड अपनाएर आगमनलाई व्यवस्थित गराउन लागिएको हो ।
सहायक वन अधिकृत मनोज रानाभाटले धेरै टाढादेखि सर्वसाधारण आउन थालेपछि पूर्ण प्रवेश निषेध गर्न नसकिएको जानकारी दिए । “केही समय बन्द रहेपनि पर्यटक आगमन रोकिएन, पूर्ण प्रवेश निषेध गर्न सकिएन भनेर समूहले जानकारी गराएको छ,” उनले भने, “अब पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर प्रवेश गराइएको छ ।” शनिबार मात्रै दुई सय भन्दा बढीले यस ठाउँको अवलोकन गरेका छन् ।
डिभिजन वन कार्यालयको रु १२ लाख ५० हजारको लागतमा उद्यान सहितको ‘ट्रि हाउस’ निर्माण गरिएको थियो । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो ।
पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीय स्थल बनाउने उद्देश्य बमोजिम उद्यानका साथै रुखमा घर बनाइएको हो । रुखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच÷सात जना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाएको छ ।