बाघको छाला, खप्पर र हड्डी सहित तनहुँका तीन पक्राउ (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाघको छाला, खप्पर र हड्डी सहित तनहुँका तीन पक्राउ (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७८, आईतवार

    तनहुँ : बाघको छाला, खप्पर लगायत शरीरका विभिन्न अङ्गका हड्डी सहित तनहुँबाट तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो काठमाडौ र जिल्ला प्रहरी कार्यालय तनहुँबाट संयुक्त रुपमा खटिएको टोलीले व्यास नगरपालिका–५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने ठाउँमा तीन जनालाई शनिबार राति पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा व्यास नगरपालिका–६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र शुक्लागण्डकी नगरपालिका–१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।

    एकान्त स्थानको चोकमा शङ्कास्पद गतिविधि गरी रहेका उनीहरुलाई जनप्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा नियन्त्रणमा लिई खानतलासी गर्दा निजहरुको साथबाट बाघको छाला, दाँत, हड्डी र खप्पर लगायतका वस्तु बरामद गरेको क्षेत्रीले बताए। पक्राउ परेकालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा पठाइएको छ ।

    प्रहरीले अर्जुन श्रेष्ठको साथबाट ५ फिट ७ इन्च लम्बाई २ फिट ५ इन्च चौडाई भएको बाघको छाला एक थान, ३ फिट लम्बाई एक फिट ५ इन्च चौडाई भएको बाघको छाला एक थान बरामद गरेको छ ।

    सन्जित गुरुङको साथबाट बाघको शरीरको विभिन्न भागका हड्डीहरु सानो ठूलो गरी एक सय २२ थान बरामद गरिएको छ । त्यस्तै तीन जनाको साथबाट मोटरसाइकल, स्कूटर र नगद समेत बराद गरिएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए ।