दमौली : तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देलले तनहुँ जलविद्युत आयोजनामा भइरहेको कामप्रति चासो व्यक्त गरेका छन् । सांसद सिग्देलले आयोजनाको कार्यालयमा पुगेर हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिएका हुन् ।
एसियाली विकास बैकको १५० मिलियन युएस डलर, जापाना अन्र्तराष्ट्रिय सहयोग(जाईका)को १८४ मिलियन युएस डलर र युरोपियन लगानी वैकको ८५ युएस डलर, र नेपाल सरकारको ८६ मिलियन युएस डलर गरि कुल ५०५ मिलियन युएस डलर (नेपाली करिव ५० अरव) को लागतमा सम्पन्न हुने आयोजना समयमा नै सम्पन्न नहुने भएपछि त्यसमा भएको ढिलाईको बारेमा आयोजना प्रमुखसँग सिग्देलले जानकारी लिएका छन् ।
आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गरेर काम अगाडी बढाइएको जानकारी दिए । पूर्वाधार संरचना अन्तरगत क्याम्प निर्माण, विद्युत सवस्टेशन, पहुँच मार्ग निर्माण र सेती नदिमा पुल निर्माण कार्य शतप्रतिशत सम्पन्न भएको उनले बताए ।
पटक-पटक ठेक्का हुने तर काम नहुने भएपछि पछिल्लो पटक सोङ्ग–दा र कालिका जेभि भियतनामसँग २२ मार्च २०२१ मा सम्झौता भएर ३० अगष्ट २०२१ वाट काम शुरु गर्ने भनिएतापनि कोभिड र अन्य प्राविधिक कारणबाट काम शुरु नभएको आयोजना प्रमुखले जानकारी दिए । “वर्गीकरण गरेर काम गरिएको भएतापनि जग्गा अधिग्रहण, पूर्वाधार निर्माण मात्र सम्पन्न भएको र अन्य मुख्य आयोजना भने शुरु भएको छैन,” उनले भने, ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा आयोजनाले सोचेअनुरुप गतिलिन सकेन ।” सन् २०२५ को डिसेम्वर सम्म काम सम्पन्न गर्ने लक्ष्य सहित पुन सम्झौता गरिएको छ ।
आयोजनाको मुख्य काम शुरु नभएकाले यसले जनतामा र सरकारमा समेत नराम्रो सन्देश गएको सांसद सिग्देलले बताए । “राष्ट्रिय गौरवको आयोजनामा ढिलाई हुँदा यसले सिङ्गो देशमा नै असर गर्दछ,” उनले भने। समस्याको नीतिगत समाधानमा आफूले जनप्रतिनिधिको हैसियतमा भूमिका खेल्ने पनि उनले बताए । तर आयोजना शुरु हुने तर समयमा सम्पन्न नहुँदा लागत खर्च पनि बढ्ने र जनता पनि आक्रोशित हुँदा समयमा सम्पन्न गर्नका लागि उनले सुझाव दिए । “सांसदको हैसियतले मेरो सहयोग पूर्ण रुपमा रहनेछ, नीतिगत, आर्थिक र अन्य सहयोगमा मेरो प्रत्यक्ष सहयोग रहनेछ, तर समयमा काम पूर्ण गर्न तिर लाग्नुहोस,” उनले भने ।