भानु : अवरुद्ध भएको चार घण्टापछि डुम्रे–बेशीशहर सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा डुम्रे–बेशीशहर सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको थियो ।
भानु नगरपालिका-८ पानसयफाँटमा बिहान ९ः३० देखि दुईतर्फी रुपमा अवरुद्ध भएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । “सडक विभागसँग समन्वय गरी लमजुङबाट जेसीबी ल्याएर एकतर्फी बाटो खुलाउने काम भएको छ,” उनले भने, “दुईतर्फी रुपमा सडक खुल्न केही समय लाग्छ ।” सडक अवरुद्ध भएर चार घण्टादेखि रोकिएका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् ।
तस्वीर : नवराज ढकाल