खोलाको कटानले जोखिममा वस्ती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खोलाको कटानले जोखिममा वस्ती

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७८, मंगलवार

    दुलेगाैडा : क्याङ्दी र वर खोलाको कटानले जरेबरको वस्ती उच्च जोखिममा परेको छ । एक सातादेखी परेको अविरल बर्षाका कारण यी दुई खोला उर्लिएर जमिन कटान गर्दै वस्तीतर्फ सोझिएपछि स्थानीय त्रसित बनेका छन ।

    शुक्लागण्डकी नगरपालिका–११ जरेबरवासीले वर्षाैदेखि निरन्तर कटानको समस्या झेल्दै आईरहेका छन् । कटान रोक्नलाई वृहत तटबन्धन नहुदा खोला वस्तीतर्फ आईरहेको स्थानीय सानुमाया महतले बताइन् । १० घर उच्च जोखिममा परेको उनले जानकारी दिइन् । वस्तीमा दुई दर्जन घर छन् ।

    दुवैतर्फ खोलाले कटान गरेपछि वर खोलामा मोटरेबल पुल निर्माणमा खटिएको कामदार बसेको क्याम्पलाई सारिएको उनले जानकारी दिइन् । कामदार जरेबरको चौरमा क्याम्प बनाएर बसेका थिए । ‘कटानले खाली जमिन सकिदैँछ । खोलाको वहाव घटेको छैन् । कतिबेला के हुने हो, त्रासमा छौँ’, महतले भनिन् ।

    गत असारमा पनि दुवैतर्फ नदीले कटान गरेको थियो । वस्ती जोगाउन शुक्लागण्डकी नगरपालिकाले ४० थान जाली दिएको थियो । तर, खोलालाई डाइभर्ट गराउन नसक्दा तटबन्धन गर्न नसकेको महतले बताइन् । बस्ती जोगाउनलाई वृहत गुरुयोजना बनाएर तटबन्धन गर्नुपर्ने उनको सुझाव छ ।

    यस्तै, क्याङ्दी खोलाकै कटानले भिमाद नगरपालिका–८ अरौदीको वस्ती पनि जोखिममा परेको छ । क्याङ्दी खोलाको वहाव वस्तीतर्फ आएपछि जोखिम बढेको हो । कटानकै कारण चार घर विस्थापित भएको वडाध्यक्ष बुद्धिमान श्रेष्ठले बताए । उनकाअनुसार अरौदीको वस्तीमा ६५ घरधुरीको बसोबास छ । अन्य घरपरिवार तत्कालै विस्थापित हुने अवस्था नरहेपनि पुरै वस्ती जोखिममा परेको श्रेष्ठले जानकारी दिए । ‘असारमा वस्तीतिर नदी सोझिन थालेपछि नगरपालिकाको स्काभेटर लगाएर धार परिवर्तनको काम गरेका थियौँ । अहिले फेरी वस्तीतिर खोला सोझिएको छ’, उनले भने ।

    अरौदीमा क्याङ्दी खोलाले क्याङ्दी मार्गको सडक पुरै बगाएको छ । असारमा कटान भएपछि केही समय ठुला सवारी चल्न सकेनन् । खोलाको धार परिवर्तन गरेपछि सवारी चलेको थियो । अहिले निरन्तर एक साता परेको अविरल बर्षाले खोला बढेर असारमा सडक कटान गरेकै ठाउँबाट बग्न थालेपछि भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वस्ती पुनः यातायात सञ्जालबाट सम्पर्क विच्छेद भएका छन् । दुई पांग्रे मोटरसाईकल स्कुटर भने जोखिम मोलेर गुडेका छन् ।