भानुमा एमाले विभाजनको असर शुन्य, सम्पूर्ण जनप्रतिनिधि एमालेमै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा एमाले विभाजनको असर शुन्य, सम्पूर्ण जनप्रतिनिधि एमालेमै

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७८, मंगलवार

    भानु : तनहुँको भानु नगरपालिकामा नेकपा एमाले विभाजनको असर शुन्य देखिएको छ । नेकपा एमाले भानु नगर कमिटीले मङ्गलबार आयोजना गरेको कार्यक्रममा एमालेका कार्यकर्ताहरुले आफूहरु विभाजनमा जान नसक्ने बताएका छन् ।

    कार्यक्रममा भानु नगरपालिकामा एमालेबाट निर्वाचित भएका ३८ जना जनप्रतिनिधिले आफूहरु एमालेमै रहने प्रतिबद्धता व्यक्त गरेका छन् । भानु नगरपालिकामा नेकपा एकीकृत समाजवादीको प्रभाव शुन्य रहेको राष्ट्रिय सभा सदस्य एवं नेकपा एमाले तनहुँकी सचिव भगवती न्यौपानेले जानकारी दिइन् ।

    कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले टुटफुटमा नअलमलिई पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए । गुरुङले कार्यकर्तालाई भ्रममा नपरी पार्टीको मूलधारमा समाहित भई अगाडी बढ्न आग्रह गरे । आगामी निर्वाचनमा नेकपा एमाले मुलुकको पहिलो शक्ति बन्ने दावी गर्दै गुरुङले टुटफुटले हित नगर्ने चर्चा गरे ।

    नेकपा एमाले तनहुँका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य केदार सिग्देलले जनताको समस्या समाधान गर्न, सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न एमाले अग्रसर भएकाले व्यक्ति नभई विचार र पार्टी महत्वपूर्ण भएको बताए ।

    राष्ट्रिय सभाकी सांसद एवं एमाले तनहुँकी सचिव भगवती न्यौपानेले नेकपा एमाले एउटा विचार भएको र यो विचारलाई छाड्न कुनै पनि कार्यकर्ता तयार नहुने बताइन् । गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले कार्यकर्तालाई निर्धक्क भएर कुनै प्रलोभनमा नपरी पार्टीको मूलधारमा रहन आग्रह गरे ।