तनहुँ : जिल्ला निर्वाचन कार्यालय तनहुँले दल परिवर्तन गर्ने भए भदौ २२ गतेभित्र सनाखत गर्न आउन सूचना जारी गरेको छ । निर्वाचन आयोगको भदौ १३ गतेको निर्णय अनुसार नेकपा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भए भदौ २२ गतेभित्र सनाखत गर्न सूचना जारी गरेको हो ।
नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले उक्त दलबाट छुट्टिई बनेको नेकपा एसमा प्रवेश गर्नका लागि स्वयंम उपस्थित भई सनाखत गर्न कार्यालयले आग्रह गरेको छ । सनाखत गर्न आउँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र लिएर कार्यालयमा उपस्थि तगर्न आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।
तनहुँबाट प्रतिनिधिसभामा निर्वाचित कृष्णकुमार श्रेष्ठ र कलिला खानले नेकपा एसमा सनाखत गरिसकेका छन् । गण्डकी प्रदेशसभामा निर्वाचित किरण गुरुङ र रामबहादुर गुरुङ गुरुङ एमालेमै छन् ।
जिल्लामा एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख एवं उपप्रमुख एमालेमै रहने भएका छन् । त्यस्तै भानुमा एमालेबाट निर्वाचित जनप्रतिनिधि पनि एमालेमै रहने भएका छन् । व्यास नगरपालिकामा एमालेबाट निर्वाचित वडा नम्बर ४ का अध्यक्ष विश्व न्यौपाने नेकपा एसमा खुलेकाले उनी सनाखतमा सहभागी हुन सक्ने आँकलन गरिएको छ । यसैगरी शुक्लागण्डकी नगरपालिकाका केही वडाध्यक्ष पनि नेकपा एसमा जान सक्ने चर्चा चलेको छ ।