दमौली : नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत तनहुँमा भदौ १८ मै वडा अधिवेशन हुने भएको छ । काङ्ग्रेस जिल्ला कार्य समिति र निर्वाचन प्रतिनिधिबीच भएको छलफलले १८ गते नै वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।
तनहुँमा नेपाली काङ्ग्रेसले फणिन्द्र कोइरालालाई निर्वाचन प्रतिनिधिको रुपमा खटाएको छ। निर्धारित मितिमै वडा अधिवेशन गर्न आवश्यक तयारी थालिएको जिल्ला कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।
जिल्लाका दश स्थानीय तहमा ८५ वडा छन् । काङ्ग्रेसका विभिन्न वडा समितिले पनि अधिवेशनका लागि तयारी गरिसकेका छन् । क्रियाशील सदस्यको भेला आयोजना भइरहेको छ ।
तनहुँ काङ्ग्रेसमा यसपटक क्रियाशील सदस्यमा नयॉ सदस्यको आकर्षण छ । तनहुँमा १४ हजार भन्दा बढी क्रियाशील सदस्य छन् ।