दमौली : सदरमुकाम दमौलीमा फेरि फोहर उठ्न छाडेको छ । फोहर फाल्ने ठाउँको अभाव झेल्दै व्यास नगरपालिकाले केही समय अगाडी मात्रै व्यास-१३ स्थित कोइदिम जाने बाटो नजिकको खोल्सामा फोहर फाल्न टुङ्गो लगाएको थियो ।
तर सोमबार छाब्दीमा आएको बाढीले व्यास-१ र १३ जोड्ने बेलबालमा अस्थायी डाइभर्सन बगाइदिएपछि दमौलीको फोहर उठ्न छाडेको हो । बेलबास जानका लागि वैकल्पिक बाटो नभएपछि नगरपालिकाले फोहर उठाउन नसकेको बताएको छ ।
व्यास-२,३ र ४ मा नगरपालिकाले दैनिक फोहर सङ्कलन गर्दै आएको छ । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले नगरपालिकाले बनाएको डाइभर्सनको भुक्तानी पनि नभइसकेकाले पुन: डाइभर्सन बनाउन कठिन हुने भएकाले पूर्वाधार विकास कार्यालयलाई अनुरोध गरिएको जानकारी दिए ।