तनहुँमा ६३ हजारले लगाए खोपको दुवै मात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ६३ हजारले लगाए खोपको दुवै मात्रा

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    तनहुँ : तनहुँमा ६३ हजार भन्दा बढीले कोभिड विरुद्धको खोपको दुवै मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार हालसम्म ६३ हजार ८ सय ९६ जनाले कोभिड विरुद्धको खोपको दुवै मात्रा लगाएका छन् ।

    कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७५ हजार तीन सय ६६ रहेको जानकारी दिए । उनका अनुसार २२ हजार एक सय १८ ले कोभिशिल्डको पहिलो, १८ हजार ९ सय ८७ ले कोभिशिल्डको दोस्रो मात्रा लगाएका छन् । २९ हजार नौ सय ९० ले भेरोसेलको पहिलो र २७ हजार सात सय ८४ ले भेरोसेलको दोस्रो मात्रा लगाएका छन् । त्यस्तै १७ हजार एक सय २५ ले ज्यानसान खोप लगाएका छन् ।

    कोभिशिल्डको पहिलो मात्रा लगाएकामध्ये १३ हजार सात सय ९१ ले कोभिशिल्डको दोस्रो मात्राका रुपमा एष्ट्राजेनेका खोप लगाएको कार्यालयले जनाएको छ । “कोभिशिल्ड लगाएकाले पाँच महिनासम्म दोस्रो मात्रा लगाउन कुर्नुप¥यो, कोभिशिल्डको दोस्रो मात्राका रुपमा एष्ट्राजेनेका खोप आएपछि पाँच महिनासम्म पर्खिएकालाई खोप लगाएका थियौ,” अधिकारीले भने । जिल्लामा विसं २०७७ माघ १४ गतेदेखि कोभिड विरुद्धको खोप लगाउन शुरु गरिएको थियो ।

    पहिलो चरणमा कोभिड–१९ महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयंसेवकले गरी २२ हजार पाँच सय दशले कोभिसिल्ड खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाएका थिए ।

    कार्यालयले ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल, ५५ वर्ष माथिका, सवारी चालक, शिक्षक, वैदेशिक रोजगारमा जाने व्यक्ति लगायतलाई ज्यानसन खोप लगाएको थियो । यसैगरी कक्षा १२ को परीक्षा दिने तयारीमा रहेका विद्यार्थी र जिल्लाका विभिन्न स्थानीय तहका व्यवसायीलाई पनि कोरोना विरुद्धको खोप लगाइएको छ ।

    जिल्लामा तीन लाख ५० हजार जनसङ्ख्या रहेको र त्यसको ९० प्रतिशतलाई खोप लगाउने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

    हालसम्म गण्डकी प्रदेशमा चार लाख २५ हजार तीन सय ४२ ले खोपको दुवै मात्रा लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पहिलो डोज लगाउनेको सङ्ख्या पाँच लाख ७७ हजार एक सय ७८ रहेको छ । एक लाख ८६ हजार चार सय ६५ ले कोभिशिल्डको पहिलो मात्रा, एक लाख ३४ हजार चार सय २९ ले कोभिशिल्डको दोस्रो मात्रा, दुई लाख ७२ हजार ९ सय ५७ ले भेरोसेलको पहिलो मात्रा र एक लाख ८७ हजार आठ सय ३४ ले भेरोसेलको दोस्रो मात्रा लगाएका छन् ।

    ज्यानसन लगाउनेको सङ्ख्या एक लाख तीन हजार ७९ रहेको छ भने कोभिशिल्डको दोस्रो मात्राको रुपमा एष्ट्राजेनेका लगाउनेको सङ्ख्या ८४ हजार आठ सय १८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।