भानुका पहिरा पीडितलाई अस्थायी टहरा बनाउन शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुका पहिरा पीडितलाई अस्थायी टहरा बनाउन शुरु

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७८, शुक्रबार

    तनहुँ : तनहुँको भानु नगरपालिका–११ मानेचौकाका सुख्खा पहिरा पीडितलाई सुरक्षित स्थानमा सार्न अस्थायी टहरा निर्माण शुरु भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको निर्देशनमा भानु नगरपालिकास्थित सशस्त्र मनकामना गणका प्रहरीले पहिरा पीडितलाई अस्थायी टहरा निर्माण शुरु गरेका हुन् ।

    केही दिनदेखि परेको झरी रोकिएर चर्को घाम लागेपछि बुधबार उक्त ठाउँमा सुख्खा पहिरा खस्दा १२ घर जोखिममा परेका छन् । ती परिवारलाई बुधबार नै सुरक्षित स्थानमा सारिसकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

    बस्तीभन्दा माथिबाट पहिरा खस्दा घर जोखिममा परेको र ठूलो पहिरा जान सक्ने सम्भावनालाई ध्यानमा दिँदै उनीहरुलाई स्थानान्तरण गरिसकिएको छ । “तत्कालका लागि अस्थायी टहरा निर्माण शुरु भइसकेको छ, केही दिनमै सशस्त्र प्रहरीले टहरा निर्माण सकेपछि पीडित परिवारलाई त्यहाँ सार्छौ,” आचार्यले भने । प्रजिअ आचार्यले आफू सम्बन्धित स्थलमा निरीक्षणका लागि जाने तयारीमा रहेको जानकारी दिए ।

    आचार्यका अनुसार बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले उक्त पहिराका सम्बन्धमा जानकारी लिएका थिए । सोक्रममा गृहमन्त्री खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन निर्देशन दिएका छन् ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।