तनहुँ : नेकपा एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको तनहुँ कमिटी घोषणा गरिएको छ । सदरमुकाम दमौलीमा शुक्रबार आयोजित जिल्ला भेलाले उक्त पार्टीको जिल्ला कमिटी घोषणा गरेको हो ।
भेलाले पार्टीको जिल्ला अध्यक्षमा शङ्करनारायण श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा थमन आले र सचिवमा श्रीराम कार्की चयन भएका छन् । जिल्ला कमिटी १ सय ४५ सदस्यीय बनाइएको बताइएको छ ।
भेलामा सो पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रतिनिधि सभा सदस्य कलिला खान लगायतले पार्टी गठनको औचित्यका बारेमा प्रष्ट पारेका थिए ।