लमजुङ : नेपाली कांग्रेस लमजुङको सभापतिका लागि पाँच जना आकांक्षी देखिएका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा जिल्ला सभापतिका लागि महासमिति सदस्य डा.टकराज गुरुङ, जिल्ला सचिव हरिप्रसाद बराल, महाधिवेशन प्रतिनिधि गमप्रसाद गुरुङ, महासमितिका सदस्य तथा मध्यनेपालका मेयर रमेश पाण्डे र महाधिवेशन प्रतिनिधि आनन्द घिमिरे आकांक्षी छन् ।लमजुङमा आगामी ५ असोजमा जिल्ला अधिवेशन निर्वाचन हुनेछ ।
लमजुङमा यसपटक पनि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । देउवा समूहबाट सभापतिमा टकराजको सम्भावना बढी देखिन्छ । उनी अघिल्लो पटक पनि सभापतिमा चुनाव हारेका थिए ।
रमेश, आनन्द, गमप्रसाद, हरिप्रसाद लगायत पौडेल समूहबाट सभापतिमा चुनाव लड्न चाहन्छन् । सभापतिका आकांक्षीहरू छलफल र भेटघाटमा व्यस्त छन् । चार नगरपालिका र चार गाउँपालिका रहेकाे लमजुङमा ८ हजार ३६९ क्रियाशील सदस्य छन् । जसमा ४ हजार ३३६ क्रियाशील सदस्य थपिएका हुन् ।
केन्द्रीय निर्वाचन समितिले अधिवक्ता ठानेश्वर दवाडीलाई लमजुङमा खटाएको छ । जिल्लामा १८ र १९ भदाैमा ७४ वडामा वडा अधिवेशन सम्पन्न भए पनि दूधपोखरी गाउँपालिका-५ कोल्कीमा बाँकी छ । ६३ वडामा सर्वसम्मत र ११ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस लमजुङका सचिव हरिप्रसाद बरालले जानकारी दिए । उनका अनुसार दूधपोखरी गाउँपालिका-५ कोल्कीमा आज आइतबार निर्वाचन हुँदैछ ।