उपत्यकामा चार सय घर डुवानमा, साढे दुई सयको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उपत्यकामा चार सय घर डुवानमा, साढे दुई सयको उद्धार

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७८, सोमबार

    काठमाडौ : आइतबार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले साढे दुई सय बढीको सकुशल उद्धार गरेको छ । बाढीबाट प्रभावित उनीहरूको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उद्धार गरिएकामा काठमाडौंबाट दुई सय ३५ र ललितपुरबाट १५ जना रहेका छन् । 

    मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रबाट उद्धार गरिएको राठौरले जानकारी दिए । अन्य ठाउँमा डुबानको समस्या हटेको र मनोहरा खोला किनारामा उद्धार भइरहेको उनले बताए ।

    वर्षाका कारण खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेका छन् । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो ।गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ।  डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन । 

    फाइल फोटो