६९ वडामा सर्वसम्मत, १५ मा निर्वाचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ६९ वडामा सर्वसम्मत, १५ मा निर्वाचन

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७८, सोमबार

    दुलेगौडा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा शुक्रबारदेखि शुरु भएको वडा अधिवेशन अझै सकिएको छैन । आइतबारसम्म ८४ वडामा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव विश्व बास्तोलाले जानकारी दिए ।

    उनका अनुसार ६९ वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो । १५ वडामा सर्वसम्मतको प्रयास सफल नभएपछि निर्वाचन गर्नुपरेको उनले बताए । ४ वडाले मात्र महिला सभापति प्राप्त गरेको छ ।

    शुक्रबार र शनिबार जिल्लामा अधिवेशनको सरगर्मी चढेको थियो । घिरिङ गाउँपालिका–१ मा सभापति पदमा सहमति जुट्न नसकेपछि आइतबार मतदान प्रकृयाबाट सभापतिको टुंगो लगाएको बास्तोलाले जानकारी दिए । शुक्रबार स्थगित भएको शुक्लागण्डकी नगरपालिका–८ मा भने अधिवेशन हुन बाँकी छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको क्रियाशिल सदस्यता रहेको वडामा विवादका कारण अधिवेशन हुन नसकेको हो ।

    उक्त वडामा छिट्टै अधिवेशन सम्पन्न गर्ने बास्तोलाले दाबी गरे । ‘अधिवेशन गर्नलाई सहमति भएको छ । भोलि पर्सीमा हुन सक्छ’, उनले भने । गुटगत विवाद उत्कर्षमा पुग्दा वडामा मतदान प्रकृया शुरु हुनु अगावै निर्वाचन सामग्री जफत भएपछि स्थगित भएको थियो ।
    वडा सभापतिबाट पछाडी हटेका ऋषिराम महतले आफ्नो पक्षका १४ जना प्रतिनिधि नराख्ने भएपछि निर्वाचन सामग्री जफत गरेका थिए ।

    महत पछाडी हट्दा पौडल पक्षका विपेन्द्र सेन ठकुरी सभापतिका एक्ला उम्मेदवार थिए । तर, अन्य पदमा विवाद भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा निर्वाचन सामग्री जफत भएको पौडेल पक्षका नेताहरु बताउँछन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा कांग्रेसको गुटगत राजनीति हावी छ । पौडेलसंगै संस्थापन शेरवहादुर देउवा, युवा नेता प्रदीप पौडेल, पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको छुट्टाछुट्टै गुट छ । वडा अधिवेशनमा जोशीले आफू पक्षका नेता कार्यकर्तालाई सहभागी नहुन अनुरोध गरेका थिए । यसपाली वडाको अधिवेशनमा संस्थापन देउवा पक्षसंगै दुई पौडेलको गुट मिलेर लडेको चर्चा चलेको छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।