पार्टी फुटको औचित्य छैन : नेता गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पार्टी फुटको औचित्य छैन : नेता गुरुङ

    विवि श्रेष्ठ

    २० भाद्र २०७८, सोमबार

    तनहुँ : नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमाले छाडेर जानेहरु चाँडै नै फर्केर मूलधारमा आउने बताएका छन् । नेकपा एमाले तनहुँको सोमबार आयोजित बैठकलाई सम्बोधन गर्दै नेता गुरुङले विचार र कार्यनीतिमा कुनै असमानता नभएपनि फगत सत्ता र शक्तिका लागि पार्टी विभाजन गर्नु देश र कम्युनिष्ट आन्दोलनका लागि घातक भएको चर्चा गरे ।

    पार्टी फुटको कुनै औचित्य नभएको दावी गर्दे उनले पार्टी फुटाउनेको क्रान्तिकारिता केही समयपछि देखिने बताए । विगतमा विचार र कार्यदिशामा फरक भएर एमाले विभाजन हुँदाको स्मरण गर्दै उनले पार्टी फुटको कुनै अस्तित्व नभएको बताए । संवैधानिक व्यवस्थालाई लत्याउँदै अनुकुल अध्यादेश ल्याई पार्टी विभाजनको मतियार देउवा सरकार भएको उनको भनाई थियो । देशभर नै एमाले विभाजनले जनतामा कुनै असर नपारेको हुँदा आ–आफ्नो कार्यक्षेत्रमा ढृढताका साथ जनताको काम गर्न उनले निर्देशन दिए ।

    नेकपा एमालेका वैकल्पिक पोलिटव्युरो सदस्य जगत विश्वकर्माले देशी विदेशी शक्तिले कम्युनिष्ट एकता नचाहेको सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपाल त्यसको मतियार बनेको बताए । पार्टी र सरकार स्वभाविक रुपमा चलिरहेको सन्र्दभमा शक्ति र सत्ताका लागि सरकार असफल बनाउन लागिपरेको उनले बताए ।

    नेकपा एमालेका केन्द्रीय सदस्य एकबहादुर रानाले पार्टी फुटालेर जानेहरुलाई जनताले माफी नदिने बताए । पार्टीभित्र बहस स्वभाविक भएतापनि विखण्डनमा नै उन्मुख हुँदा जनतामा नैराश्यता छाउने बताए । नेकपा एमाले तनहुँका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केदार सिग्देलले पार्टी फुट जनताको चाहना विपरित भएको बताए । लामो समयसम्म एमालेमा रहेर विभिन्न राज्यको नेतृत्वमा पुगिसकेका नेताहरुले कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गरेको उनको आरोप थियो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सल्लाहकार सदस्य टुकराज सिग्देल, केन्द्रीय अनुशासन आयोगका सदस्य शेषमणि आचार्य, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य दधिराज सुवेदी, गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङ, प्रदेश कमिटी सदस्य नारायण खनाल लगायतले धारणा व्यक्त गरेका थिए ।

    बैठकमा नेकपा एमालेका ८५ मध्ये ७० जिल्ला कमिटी सदस्यको उपस्थित रहेको सचिव भगवती न्यौपानेले जानकारी दिइन् ।