संखुवासभा हत्या प्रकरण: सिंगो गाउँ नै शोकमा, प्रहरीले अझै पाएन ‘क्लू’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संखुवासभा हत्या प्रकरण: सिंगो गाउँ नै शोकमा, प्रहरीले अझै पाएन ‘क्लू’

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७८, बुधबार

    काठमाडौ: परिवारै सखाप बनाएको घटनाले मादी-१ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीय रणबहादुर कार्कीले बताए । घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए ।

    घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीय कार्कीले बताए । उनीमात्रै होइन सिंगो खोलागाउँ त्रसित छ । घटना भएको तीन दिन वित्दा पनि हत्या प्रकरण रहस्यमै छ । स्थानीयका अनुसार हत्यामा संलग्नलाई तालिम प्राप्त कुकुरलेसमेत पत्ता लगाउन नसक्दा अझै रहस्यमय भएको छ । प्रहरीले घटनाका बारेमा कुनै नयाँ संकेत फेला पारेको छैन ।

    सीआईबी टोली घटनास्थलमै

    रहस्यमयी घटनाको अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

    मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानमा तालिमप्राप्त कुकुर र विज्ञ टोलीले अहिलेसम्म कुनै तथ्य फेला पार्न सकेको छैन । अपराध अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानबाट आएको एसपी भीम दाहाल नेतृत्वको कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन सकेको छैन ।

    धरानबाट आएको कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन नसकेपछि मंगलबार दिउँसो शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । प्रहरी र स्थानीयको जानकारीअनुसार तेज बहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

    घटना राति भयो कि बिहान अझै अन्योल

    यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अझै अन्योल छ । एकमात्र जीवित बौद्धमानकाअनुसार सपरिवार बेलुका ६/७ बजेतिर खाना खाएर सुतेको थियो । घटनामा परेकाहरुको शवको अवस्थालाई हेर्ने हो भने तेजबहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य ५ जनाले चप्पल, स्यान्डल लगाएका थिए । सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थिति छैन । यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरु चप्पल, जुत्ता लगाएको नहुनुपर्ने हो । घटना बिहानैको हो भने पनि भागदौड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए ? यो प्रश्नमा प्रहरी अनुसन्धान घुमेको छ ।

    हत्या गरिएका ६ जनाको नै टाउँकोमा सामान्य चोट र रगत जमिएको पाइएको छ । विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रसारण भएअनुसार धारिलो हतियार प्रयोग गरि हत्या गरिएको भनिए पनि त्यस्तो नभएको पाइएको प्रहरीको भनाइ छ । उनीहरुको शव घोप्टीएको अवस्थामा रहेको थियो ।

    पार्वतीको शव आँगनबाट ओछ्यानमा

    जीवित रहेका बौद्धमान आफूलाई घटनाको विषयमा कुनै जानकारी नभएको बताउँछन् । उनले बिहान घरमा कोही नउठेपछि आफू उठेर घरबाहिर गई को कता गएछन् भनेर खोजी गरे । तर कोही पत्ता नलागेपछि उनी पुन: आफू सुतेकै ओछ्यानमा फर्किएका थिए । जुनबेला करिब ८ बजिसकेको थियो ।

    ओछ्यानमा पुगेर अर्को खाटमा सुतेकी आफ्नी श्रीमती पार्वतीलाई उठाउन खोजे । तर उनी उठिनन् । बौदमानले भनेअनुसार पार्वतीलाई मुर्छा पर्ने पुरानै रोग थियो । निकैबेरपछि पनि पार्वती नउठेपछि बौद्धमानले श्रीमतीको निधन भइसकेको अनुमान गरे ।

    निकैबेरपछि होशमा आउने गरे पनि सोमबार बिहान भने उनी कहिल्यै नउठ्ने गरी गइन् । घटनामा वर्ष ५८ का तेजबहादुर कार्की आमा ८४ बर्षीय पार्वती, ५२ बर्षीया श्रीमती कमला, ३२ बर्षीया बुहारी रञ्जना, ११ बर्षीय नाति दिपेन र ७ बर्षीया नातिनी गोमाको मृत्यु भएको थियो । उनका ८५ वर्षीय बुवा बौदमान कार्की भने सकुशल रहेका छन् । १० जनाको परिवार रहेको कार्कीको जेठो छोरो रमेश मलेसिया र कान्छो छोरो नरेश दुबई वैदेशिक रोजगारीमा छन् । कान्छी बुहारी तारा झापाको दमकमा बस्दै आएकी छन् ।