बागलुङ : विश्वकै लामो दावी गरिएको बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन वृज’ नामाकरण गरिएको छ ।
बागलुङ नगर कार्यापालिकाको बैठकले सार्वजनिक अपिलमार्फत प्राप्त उत्कृष्ट दशमध्ये गण्डकी गोल्डेन वृज’ नाम छनोट गरेको हो ।
नगरपालिकामा प्राप्त नाममध्ये बागलुङ नगरपालिका–५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गर्ने निर्णय भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । मंगलबार सम्पन्न कार्यपालिका बैठकले उक्त नाम राख्ने निर्णय गरेको थियो ।
पहिलो चरणमा नगरपालिकाले उत्कृष्ट दश नाम छनोट गरेको थियो । पुलको नाम तयार गर्ने व्यक्तिलाई नगरपालिकाले २५ हजार रुपैयाँ नगद राशी उपलब्ध गराउने घोषण गरेको थियो ।
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ ।